जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय


१ पुस २०७८, बिहिबार


जनकपुर । प्रदेश नं २ सरकारले प्रदेशभरिका सम्पूर्ण जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश नं २ को आठवटै जिल्लाका जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो । अध्यादेशमार्फत सप्तरीमा स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि रु ३१ करोड अनुदानको कार्ययोजना बनाएर पेश गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

प्रदेश सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेको र आवश्यक भौतिक पूर्वाधार अघि बढाउन रकमका लागि योजना बनाएर पेश गर्न सहमति दिने निर्णय भएको मन्त्री साहले बताए । मन्त्रिपरिषद्ले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘बेटी पढाउ बेटी बचाउ’ अभियान सञ्चालनको जिम्मा पाएको मुख्यमन्त्री कार्यालयबाट सामाजिक विकास मन्त्रालय मातहत लैजाने कार्यविधिलाई परिमार्जनसहित पारित गरेको प्रवक्ता साहले बताए । त्यस्तै बन्द रहेको छोरी बीमा अभियानलाई पुनःसञ्चालन गर्ने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस