बिपी राजमार्गमा आकस्मिक सूचना प्रणाली (इआइएस्) प्रविधिको अध्ययन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बिपी राजमार्गमा आकस्मिक सूचना प्रणाली (इआइएस्) प्रविधिको अध्ययन


१ पुस २०७८, बिहिबार


काभ्रेपलान्चोक । पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा छ वर्षदेखि अलपत्र अवस्थाको आकस्मिक सूचना प्रणाली (इआइएस्) प्रविधिको अध्ययन भइरहेको छ ।

अध्ययन प्रतिवेदनअनुसार मर्मत तथा नयाँ सामग्रीको प्रयोग गरी प्रविधिलाई निरन्तर सञ्चालनमा ल्याउने योजना बनाइने सडक विभागले जनाएको छ ।

उपआयोजनाद्वारा बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत सडकखण्डमा व्यवस्थित गरिएको प्रविधिको राजमार्ग प्रवेश स्थल धुलिखेलमा राखिएको डिजिटल सूचना बोर्डमासमेत मौसमअनुसारको सूचना अद्यावधिक गर्न सकेको थिएन ।

आयोजनाले राजमार्गको तत्कालिन अवस्थाबारे जानकारी दिने उद्देश्यले धुलिखेललगायतका स्थानमा बोर्ड राखिएको थियो । सडक विभागले उक्त राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई निरन्तरता दिन नसकेको जनाएको छ ।

उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन अध्ययन भइरहेको विभागको इन्जिनियर गीताञ्जली कोइरालाले बताइन् । उनले भनिन्, ‘जाइका एक्सपोर्टस् टिमले अध्ययन गरिरहेको छ, उसको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइनेछ ।’ उनका अनुसार लामो समयदेखि अध्ययन गरेको उक्त टिमसँग विभागले प्रतिवेदनको ताकेता गरिरहेको छ ।

विभागले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्रणालीको विकास गरेको तर केही समयपश्चात् उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको जनाउँदै आएको छ ।

विभागका उपमहानिर्देशक एवं वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलले पछिल्ला केही वर्षदेखि उक्त योजना निरन्तर सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव भएको र त्यसपछि कोरोना महामारीका कारण निरन्तरता दिन नसकिएको बताउँदै अब के कसरी गर्न सकिन्छ छलफल गर्ने बताए । ‘अब तत्काल यसबारे सरोकारवालासँग छलफल गरी रोकिएको काम अघि बढाउने छौँ’, उनले भने । यस्तो प्रणालीले राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्धार गर्न सकिने संयन्त्र निर्माण भएको थियो ।

पोखरेलका अनुसार हाल सडक बिस्तारका क्रममा अरनिको राजमार्ग प्रवेश क्षेत्र कोटेश्वरमा समेत सूचना बोर्डको पुनः निर्माण हुनेछ । उक्त सडकको यात्रा सहज बनाउन आकस्मिक सूचना प्रविधियुक्त राजमार्ग बनाउन लागिएको थियो । आउने वर्षाको मौसमसम्म प्रणाली व्यवस्थित भइसक्ने बताइएको छ ।

राजमार्गमा वर्षा, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेबसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो । यही जानकारी राजमार्गको वेबसाइट तथा कोटेश्वर, धुलिखेल र बर्दिबासमा रहने सूचना बोर्डमा समेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो । तीनै स्थानमा डिजिटल सूचना बोर्ड पनि राखिएको छ । ती बोर्डमा हाल पनि सामान्य सूचनाबाहेक सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे कुनै पनि जानकारी हुँदैन ।

राजमार्गको अवस्थाबारे मोबाइल तथा वेबसाइटमा जानकारी लिन सक्ने गरी छ वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचना प्रविधिका भौतिक पूर्वाधारलगायत संरचना निर्माण तथा व्यवस्थापन गरिएको थियो ।

यतिमात्र होइन, वेबसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तय गर्न सकिने योजनासमेत बनाइएको थियो । त्यस बेला राजमार्ग सञ्चालन तथा मर्मत सम्भारका लागि स्थापित उपआयोजनाले यस्तो प्रणालीको विकास गरेको थियो ।

एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेशनसहित वेबसाइट र इआइएसलाई इन्जिनियरिङ सफ्टवेयर कम्पनी सफ्टवेल प्रालिले ‘प्रणाली’समेत तयार पारिसकेको जनाइएको थियो । यो मार्गलाई नेपालकै नमुना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले जनाउँदै आएको छ ।

यस प्रणालीअन्तर्गत चार केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तररुपमा वर्षात्को मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्तो केन्द्र काठमाडौँ थापाथलीस्थित उपआयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालय र सिन्धुली जिल्ला विकास समितिमा रहने व्यवस्था गरिएको आयोजनाले जनाएको थियो ।

उक्त प्रणालीअन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरण जिपीआरएस् मोडेलमार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरण एलइडी डिस्प्लेयुक्त बोर्डमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । २४ सै घण्टा विवरण अपडेटमा विद्युत् भार कटौतीले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्य शक्ति ९सोलार०मार्फत विद्युत् आपूर्ति हुने व्यवस्थासमेत मिलाइएको थियो ।

उक्त राजमार्ग हाल राजधानीबाट पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा लिइएको छ । काभ्रेपलान्चोकको धुलिखेलबाट विसं २०५४ बाट बनेपा–सिन्धुली बर्दिबास १६० किलोमिटर सडक बिस्तार गरिएको थियो ।

यो वर्ष मनसुन निकै सक्रिय भएको थियो । भारी वर्षाका कारण हप्तासम्म पनि राजमार्ग अवरुद्ध हुन पुगेको थियो । उक्त प्रणालीमार्फत बिपी राजमार्ग सडकको अवस्थाबारे तत्काल यात्रुलगायत सरोकारवालाले जानकारी पाउन सके सहज हुने अपेक्षा गरिँदै आइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस