एनआरएनएको विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एनआरएनएको विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन


१ पुस २०७८, बिहिबार


एनआरएनए

काठमाडौँ । कूल आचार्य पक्षले चुनावमा भाग नलिने चेतावनी दिएपछि गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले सहमतिको प्रयास निकाल्न उच्चस्तरीय समिति गठन गरेको छ ।

अध्यक्ष कुमार पन्तले संस्थाभित्रको विवादलाई सहमति र संवादका आधारमा समाधान गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेका हुन् ।

समिति सदस्यहरुमा सङ्घका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, डा. यादव पण्डित, सचिव गौरी जोशी र प्रवक्ता डीबी क्षेत्री छन् ।

अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका सदस्यलाई पत्र लेख्दै उनले सर्वसम्मत समाधान खोज्न संरक्षक, सल्लाहकार, अग्रज, आइसिसीका सदस्यहरुसँग छलफल र सल्लाह थालेको बताएका छन् ।

तर, अहिलेको निर्वाचन कार्यतालिका स्थगित गरिएको बारेमा उनले केही बताएका छैनन् । दोस्रो पटकको निर्वाचन पुस ११ र १२ गते तय गरिएको छ ।

अध्यक्षका प्रत्याशी कूल आचार्यले सर्वसम्मत प्रयास भए आफूहरु चुनावमा सहभागी हुने बताएका छन् । सहमति खोज्न संस्थापनले पहल थाल्नुलाई उनले स्वागतयोग्य भएको बताए ।

केही एनसीसीको चुनाव र मतदाता नामावालीलाई लिएर एनआरएनएमा विवाद देखिएको छ । आचार्य पक्ष विवादलाई समाधान गरेर मात्र चुनावमा जानुपर्ने अडानमा छ ।

अध्यक्ष पन्तले चाहिँ घोषित मितिमै चुनाव गराउन प्रयास भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस