बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन


१ पुस २०७८, बिहिबार


म्याग्दी । सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ ।

बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारी साधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम हटाउन, यातायात आवत जावतलाई व्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न एकतर्फी यातायात सञ्चालन सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले अबदेखि क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्युरोड हुँदै पुन क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्नुपर्नेछ ।

‘नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य सङ्घको बैठकले गरेको निर्णय कार्यान्वयनमा लगिएको हो’, नेपालीले भने, ‘साँघुरो सडकमा दोहोरो सवारी आवतजावत गर्दा जाम र दुर्घटना हुने समस्या न्यूनीकरणका लागि एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो ।’

बेनी बजारको यातायात व्यवस्थापनका लागि अतिक्रमण गरेर निर्माण भएको संरचना हटाइएको छ । नगरपालिकाको अनुरोधअनुसार व्यवसायी र घरधनीले सडकको क्षेत्राधिकारमा बनाइएको संरचना स्वतफूर्तरुपमा हटाएका छन् ।

होटल, फेन्सी, खाद्यान्न, फलफूल व्यवसायीलाई घरभन्दा बाहिर सडक च्यापेर राखिएका होडिङ बोर्ड, जस्तापाताको छाप्रो हटाउन र पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न अनुरोध गर्दै नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ चिरञ्जीवी राना, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालसहितको टोलीले गत हप्ता घरदैलो गरेका थिए ।

वडा कार्यालय भवन निर्माण

बेनी नगरपालिका–१० को वडा कार्यालय भवन निर्माण गरिएको छ । पात्लेखेत र वाखेत गाउँको सिमानामा तीन कोठे एकतले वडा कार्यालय भवन निर्माण गरिएको हो ।

कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले गत आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले विनियोजन गरेको रु बीस लाख बजेटबाट निर्माण भएको भवनबाट सेवा सुरु गरिएको जानकारी दिए ।

‘पात्लेखेतमा रहेको साविक गाविस भवन साँघुरो र जीर्ण भएको थियो’, उनले भने, ‘वडाका सबै टोलका बासिन्दालाई पायक पर्ने ठाउँमा भवन बनाएर कार्यालय सञ्चालन गरेका हौँ ।’ नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको कार्यवाहक वडाध्यक्ष पुनले बताए ।

पञ्चायतकालमा निर्माण भएको तत्कालीन गाविस भवन जीर्ण बनेको थियो । नयाँ भवनमा वडाध्यक्ष, सचिवको कार्य र भण्डारण कक्ष भएको भवनमा चालु आर्थिक वर्षमा तला थप गर्न लागिएको छ ।

नगरपालिकाले चालु आवमा विनियोजन गरेको रु नौ लाख पचास हजार बजेटबाट उपभोक्ता समितिमार्फत भवनको माथिल्लो तलामा सभाहल निर्माण सुरु गरिएको छ । भवनको माथिल्लो तलामा सभाहल र खोप क्लिनिक बनाउन लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस