काँग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

काँग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै


२८ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएका हुन् । बिहान दुई हजार ६७६ मत गणना हुँदा सभापति देउवाले १२६५, सभापतिका अरु उम्मेदवारहरु क्रमशः डा शेखर कोइरालाले ९८३, प्रकाशमान सिंहले २०३, विमलेन्द्र निधिले १६० र कल्याण गुरूङले १४ मत प्राप्त गरेका छन् ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो ।

काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस