काँग्रेस १४औँ महाधिवेशन : प्रधानमन्त्री देउवाद्वारा मतदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस १४औँ महाधिवेशन : प्रधानमन्त्री देउवाद्वारा मतदान


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गरेका छन् । सभापतिका प्रत्याशी उनले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

केहीबेरअघि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्याशी प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् भने अन्य प्रत्याशी डा. शेखर कोइराला र विमलेन्द्र निधि पनि मतदान स्थलमै छन् ।

यसै गरी उपाध्यक्षका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनील थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीलगायतले पनि मतदान गरिसकेका छन् । मतदानका लागि प्रतिनिधि लामबद्ध रहेका छन् । काँग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका थिए ।

एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

अहिलेसम्म तीन वटै मतदान केन्द्रबाट करिब २०० जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण केहीबेरअघि मात्रै मतदान सुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

काँग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदान स्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्री, आठ सह महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसै गरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस