काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आइतबार पनि बस्दैछ।
एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक बिहान ११ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्न लागेको हो।
आइतबारको बैठकमा बाँकी रहेका १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी गठन, पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनलगायत एजेण्डामाथि छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
शनिबार बैठकमा रहेका १५ कार्यसूचीमध्ये ९ वटा कार्यसूचीमाथि छलफल गरिएको बताइएको छ ।
आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकै साथ सम्पन्न गर्ने निर्णय भएको छ। पुस महिनामा आवश्यक तयारी गरेर माघ र फागुन महिनामा पार्टी विस्तार र पार्टी प्रवेश अभियान सञ्चालन गरिने बैठकले निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सार्ने निर्णय गरिएको छ। बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको जग्गामा नयाँ भवन नबनाउञ्जेल तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यालय सार्ने निर्णय भएको एमालेले जनाएको छ।







