सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या


२४ मंसिर २०७८, शुक्रबार


नेपाल टेलिकम

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा विद्युत्का खम्बा हटाउन ढिला हुँदा टेलिकमको सेवा विस्तारमा समस्या भएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका गण्डकी प्रदेश निर्देशनालयका वरिष्ठ इन्जिनियर रामचन्द्र पोखरेलले सडकका कारण मुख्य राजमार्ग क्षेत्रमा टेलिकमको नयाँ सेवा विस्तारमा समस्या भएको बताए ।

‘हामीले बिजुलीका खम्बामा फाइबर तार टाँगेर ग्राहकलाई एउटै तारबाट इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा दिँदै आएका छौँ’, पोखरेलले भने, ‘तर, सडक विस्तार भइरहेको गैँडाकोट क्षेत्रमा बिजुलीका खम्बा सार्न ढिलाइ भएकाले मुख्य बजार क्षेत्रमा हामीले हाम्रो सेवा दिन पाएका छैनौँ ।’

अहिले भइरहेका खम्बामा टेलिकमको तार टाँगेको अवस्थामा फेरि सार्ने बेलामा कठिन हुने भएकाले सेवा विस्तारमा समस्या आइरहेको पोखरेलको भनाइ छ । अहिले नेपाल टेलिकमको ‘फाइबर टु होम’ सेवा प्रदेशका ११ वटै जिल्लामा पुगेको पोखरेलले बताए ।

‘हामीले केही दिन अगाडि मात्रै मनाङमा टेलिकमको फाइबर पुर्‍याएका छौँ’, पोखरेलले भने, ‘मनाङमा फाइबर पुगेसँगै प्रदेशका सबै जिल्लाका सेवाग्राहीले एउटै तारबाट इन्टरनेट, टेलिफोन र टेलिभिजनका सेवा लिन सक्ने भएका छन् ।’

टेलिकमले पहिले वितरण गर्दै आएको एडिएसल सेवा विस्थापित गर्दै नयाँ सेवा प्रदान गर्नसमेत फाइबरको प्रयोग गर्न पोखरेलले आग्रह गरे । ‘एडिएसएलमा तामाको तारबाट इन्टरनेट सेवा दिइन्थ्यो, जसको स्पिड एकदमै थोरै हुन्थ्यो’, उनले भने, ‘अहिले फाइबरबाट दिइने सेवा गुणस्तरीय, उच्च गतिको हुने भएकाले सेवाग्राहीबाट गुनासोसमेत आएको छैन ।’

टेलिकमको फाइबर टु होम सेवालाई प्रदेशका सबै जिल्लाका साथै नवलपुर जिल्लाभर विस्तार गर्न क्षमता बढाउने काम भइरहेको वरिष्ठ इन्जिनियर पोखरेलले बताए । जिल्ला सदरमुकाम कावासोतीमा लेखा शाखाका रूपमा टेलिकमले सबै सेवा प्रदान गर्ने गरी नयाँ कार्यालय खोलेकाले पोखरेलले अब यहाँका नागरिकलाई गुणस्तरीय इन्टरनेटसँगै टेलिफोन र मोबाइल फोन सेवा पुर्‍याइने बताए ।

जिल्लामा विसं २०७६ बाट फाइबर बिच्छ्याउन सुरु गरिएको थियो । गैँडाकोट नगरपालिकामा भने विसं २०७७ जेठबाट फाइबर सेवा सुरु गरिएकामा हाल वडा नं १, २, ५, ६ र ८ मा मात्रै सेवा पुर्‍याउन सकिएको टेलिकम गैँडाकोटका कार्यालय प्रमुख अर्जुनकुमार लामिछानेले बताए । उनले नगरपालिकाको मुख्य राजमार्गमा पर्ने अन्य वडामा सेवा विस्तारमा कठिन भएकाले सडक विस्तार आयोजना र विद्युत् प्राधिकरणसँग कुरा गरिरहेको जानकारी दिए ।

टेलिकमको गैँडाकोट शाखा कार्यालयले आफ्नो क्षमता विस्तार गर्दै तीन हजार ग्राहकलाई फाइबर सेवा प्रदान गर्न सक्ने बनाएको भए पनि हालसम्म जम्मा ३२० जनाले फाइबर सेवा जडान गरेका लामिछानेले जानकारी दिए ।

हालसम्म गैँडाकोटमा १० जनाले मात्रै नेपाल टेलिकमको आइटिभी जडान गरेका भन्दै लामिछानेले पुरानो एडिएसएल सेवा विस्थापित गर्न आग्रह गरे । चाँडै नै आफूहरुले गैँडाकोट क्षेत्रका १० हजार ग्राहकलाई सेवा दिन सक्ने गरी फाइबरको क्षमता बढाउने तयारी गरिरहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस