विनाशकारी प्रभाव रोक्न दक्षिण एसियाका बालबालिकामा तत्काल लगानी अत्यावश्यक : युनिसेफ प्रतिवेदन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विनाशकारी प्रभाव रोक्न दक्षिण एसियाका बालबालिकामा तत्काल लगानी अत्यावश्यक : युनिसेफ प्रतिवेदन


२४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । दक्षिण एसियाका सरकारले कोभिड–१९ महामारी र अन्य प्रकोपका कारण प्रभावित लाखौँ बालबालिका र तिनका परिवारका लागि आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षा सेवामा तत्काल लगानी विस्तार गर्न आवश्यक रहेको युनिसेफको एक प्रतिवेदनले जनाएको छ ।

युनिसेफको ७५औँ वार्षिकोत्सवका अवसरमा ‘दक्षिण एसियामा बालबालिकाका लागि अवसर पुनः उत्पन्न गर्ने’ नामक आज सार्वजनिक प्रतिवेदनले यस क्षेत्रका ६० करोड बालबालिकामध्ये सबैभन्दा सीमान्तकृत बालबालिकामा महामारीले पारेको असमान प्रभावमाथि प्रकाश पारेको छ ।

प्रतिवेदनले अत्यावश्यक स्वास्थ्य, खोप, पोषण, संरक्षण र शिक्षा सेवालाई प्रगतिको अवस्थामा फर्काउन नसकेमा कोभिड–१९ महामारीको विनाशकारी प्रभाव दशकौँसम्म रहिरहने बताएको छ ।

मानवीय प्रकोप र खडेरी, बाढी र वायु प्रदूषणजस्ता जलवायुसम्बन्धी जोखिमले बालबालिकाको अवस्थालाई थप गहिरो प्रभाव पारेको कुरा पनि प्रतिवेदनमा उल्लेख छ ।

महामारीभन्दा अघि ठुलो युवा जनसङ्ख्याले विकासलाई थप गति दिएकोले र बालबालिकाको क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरेकोले दक्षिण एसिया विश्वको सबैभन्दा द्रुत वृद्धि हुने क्षेत्रमध्ये एक थियो । बितेको २५ वर्षमा बाल मृत्युदर आधाभन्दा बढी घटेको छ ।

साथै पुड्कोपनाबाट पीडित बालबालिकाको सङ्ख्या पनि सन् २००० पछि एक तिहाइभन्दा बढीले घटेको छ । माध्यमिक विद्यालयमा भर्ना हुने बालबालिकाको सङ्ख्या क्रमशः बढ्दै गएको छ र १८ वर्ष नपुग्दै विवाह गर्ने बालिकाको सङ्ख्या घटेको छ । त्यसका साथै ९० प्रतिशतभन्दा बढी जनताको सुरक्षित खानेपानीमा पहुँच छ ।

‘हाम्रो क्षेत्रले हालैका दशकमा बाल अधिकारको विकासमा हासिल गरेका उल्लेखनीय उपलब्धि अहिले जोखिममा छन्’, दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लारिया–एडजेइले भने, ‘यदि हामी तत्काल ठोस कदम चाल्न असफल भयौँ भने कोभिड–१९ महामारीको सबैभन्दा नराम्रो असर आगामी दशकमा महसुस हुनेछ । तर तत्काल कार्य गर्‍यौँ भने हामीले अवसरको पुनः प्राप्ति मात्र नभई दक्षिण एसियाका प्रत्येक बालबालिकाले बाँच्ने र फस्टाउने कुरा सुनिश्चित गर्न सक्नेछौँ ।’

प्रतिवेदनले आधारभूत स्वास्थ्य र खोप सेवा पूर्णरूपमा पुनः स्थापना गर्ने र विद्यार्थीलाई उनीहरूले छुटाएका सिकाइ प्राप्त गर्न मद्दत गर्नेजस्ता तत्कालका प्राथमिकता पहिचान गर्दछ । प्रतिवेदनले महामारीका कारण हामीले सिकेका पाठ र यो परिस्थितिले हाम्रा लागि खोलेका अवसरको रूपरेखा पनि प्रदान गर्दछ । यी सिकाइलाई सबै बालबालिकाको हितका लागि प्रयोग गर्न सकिन्छ ।

यी सिकाइमा कोभिड–१९ सँग जुध्न विस्तार गरिएको र सुधारिएको कोल्ड चेन र अक्सिजनजस्ता पूर्वाधारमार्फत सुदृढ गरिएको सार्वजनिक स्वास्थ्य प्रणाली समावेश छन् ।

अन्य अवसरमा मानसिक स्वास्थ्यबारे सार्वजनिकरूपमा छलफल समावेश छन् जसले थप सेवाको आवश्यकतामाथि प्रकाश पार्न र माग बढाउन मद्दत गर्दछ । साथै यो क्षेत्रमा अवस्थित गहिरो डिजिटल दूरीको पहिचान गरेर त्यो खाडललाई पुर्ने अवसरको बढ्दो मान्यतालाई बुझ्न पनि सहयोग गर्दछ ।

युनिसेफका अनुसार बालबालिकाको प्रगतिलाई पहिलेकै स्थितिमा लैजान गरिने तत्काल लगानीसँगै यो क्षेत्र भविष्यमा हुन सक्ने महामारीको लागि पनि तयारी अवस्थामा रहनुपर्छ ।

“दक्षिण एसियाको ३० प्रतिशत जनसङ्ख्याले मात्रै पूर्ण खोप लगाएका छन् र नयाँ प्रकारका भाइरस देखापरेसँगै परिवार असुरक्षित छन्”, जर्ज लारिया–अड्जेइले भने, ‘विश्वभरका सरकारले कोभिड–१९को खोपमा निष्पक्ष र समान पहुँच सुनिश्चित गर्नुपर्दछ । जबसम्म यो महामारी सबैका लागि समाप्त हुँदैन, तबसम्म यो कसैको लागि समाप्त हुँदैन ।’

‘हाम्रो भविष्य, हाम्रो अधिकार, हाम्रो आवाज’ शीर्षकको युवा वक्तव्यमा बालबालिकामा महामारीको असमान प्रभाव बारे उल्लेख गरिएको थियो । उक्त वक्तव्य आठ वटा दक्षिण एसियाली देशका झन्डै ५०० युवालाई समावेश गरेर सञ्चालन भएको व्यापक भर्चुअल परामर्शको परिणाम हो ।

‘कोभिड–१९ को महामारीले हाम्रो अवस्थालाई झनै नराम्रो बनाएको छ । हाम्रा विद्यालय प्रायः एकै पटक महिनौँसम्म बन्द भएका छन् । हामीमध्ये धेरै बालबालिका अब कहिल्यै विद्यालय नफर्कन पनि सक्छौँ’, युनिसेफ, सार्क र वरिष्ठ सरकारी अधिकारीसँग साझा गरिएको वक्तव्यमा उल्लेखित छ, ‘तपाईँका प्रयासले हामी दक्षिण एसियाका युवाको जीवन परिवर्तन गर्न सक्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस