समुदायसँग प्रहरी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समुदायसँग प्रहरी


२४ मंसिर २०७८, शुक्रबार


सीमित साधन स्रोतका बाबजुद नेपाल प्रहरीले काम गरी राखेको छ त्यो कुरा आफ्नो ठाउँमा छ तर जनअपेक्षा कतिको पूरा गर्न सकेको छ त्यो महत्त्वपूर्ण कुरा हो । कोभिडको बेला अस्पतालमा डाक्टर र नेपाल प्रहरीले आफ्नो जिम्मेवारी पुर्णरुपले निभाएको थियो त्यसबापत जनताले प्रशंसा पनि गरेका थिए ।

कोभिड, बाढी पहिरो जस्तो कठिन परिस्थितिमा पनि काम गर्दा जनचाहनामा प्रहरी खरो उत्रिएको छ । तर पनि जनताले प्रहरीलाई विश्वास गर्न सकेको छैन, यसको हो कहीँ समस्या छ तर तर समस्या कहाँ छ, समस्याको कारण के हो भन्ने कुरा पत्ता लगाउन जरुरी छ मिलेर काम गर्नका लागि ।

अपराधका प्रकृति र प्रवृत्ति परिवर्तन भएका छन् । आत्महत्या बढेका छन्, आफन्त बाट हुने हत्यामा डरलाग्दो वृद्धि भएको छ । महिलासँग जोडिएको अपराधमा वृद्धि भएको छ । यी सबै अपराध परिवार र आफन्तसँग जोडिएका छन् तसर्थ कारण पनि परिवार र समाज भित्रै छ र जबसम्म समाजसँग नजिक भएर काम गरिँदैन तबसम्म यस्ता अपराधको कारण पनि थाहा हुँदैन र नियन्त्रण पनि गर्न सकिँदैन ।

नयाँ पुस्ता आउँदै छ नयाँ सोचका साथ । जो साथीभाइ परिवारसँग टाढिँदै छ । गुरु, परिवार, समाज भनेको के हो ? र, गरिने व्यवहार र जिम्मेवारीका बारेमा नैतिक शिक्षाको कमी छ । अहिले विश्वका अन्य राष्ट्रले गरेजस्तै नेपालमा प्रहरी नागरिक केन्द्रित हुन जरुरी छ । कतै प्रहरी जनताबाट टाढिँदै त गई राखेको छैन ? र जनता केन्द्रित कार्यक्रम कम हुँदै त गई राखेको छैन ? हामीले यसबारे सोच्न ढिलो त गरेका त छैनौँ ?

प्रहरी र जनताको सम्बन्ध
प्रहरीको काम नै जनताको सुरक्षा गर्ने हो । प्रहरीले जनतालाई विश्वासमा लिन सकेन भने अपराध नियन्त्रणदेखि अन्य काममा पनि प्रहरीले चाहे जस्तो सफलता पाउन सक्दैन । प्रहरी र जनताको सम्बन्ध पनि गज्जबको छ । एकातिर प्रहरी मन नपर्ने तर नभई नहुने । मन नपरे ढुङ्गा हानेर लखेट्ने र बिदाइ(सरुवा तथा अनिवार्य अवकाश) हुँदा माला लगाएर रोएर बिदा पनि गर्ने ।

प्रहरीप्रतिको जनधारणा
जनताको प्रहरीसँग गुनासो व्यवहारसँग छ । बोलीसँग छ तर अर्कोतिर हेर्ने हो भने थाना चौकी चाहियो भनेर बर्सेनि निवेदनका थानका थान लागेका लाग्यैछन् । प्रहरी प्रधान कार्यालयद्वारा गरिएको अध्ययनले प्रहरीको बोली र व्यवहारमा समस्या देखिएको थियो । अर्कोतर्फ जनआकाङ्क्षा भनेको प्रहरी जनताको आवश्यकता र टोल टोलमा प्रहरी चाहिन्छ । प्रहरी गस्ती आउनु पर्छ, यसले प्रहरीप्रतिको जन साधारणको सकारात्मक आशा पनि देखिन्छ ।

मुस्कानसहितको सेवा कार्यक्रम
प्रहरीको व्यवहार र बोलिमा गुनासो आउन थालेपछि कुबेर सिंह राना प्रहरी महानिरीक्षक हुँदा देशव्यापी रुपमा प्रहरीको व्यवहार र बोली सुधार्नका लागि मुस्कानसहितको सेवा कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसपछि विभिन्न काल खण्डमा विभिन्न नामले समाजसँग जोडिएका कार्यक्रम चलाइएका थिए र चली राखेका छन् । हाम्रोमा प्रहरी प्रमुख परिवर्तन भएपछि कार्यक्रमले निरन्तरता नपाउने चलन छ ।

नयाँ नेतृत्व आएपछि आफ्नै इच्छामा र सोचमा कार्यक्रम लगाउने गरेको देखिन्छ । कार्यक्रमले निरन्तरता नपाए पछि विभाग भित्र र बाहिर यस्तै हो भनेर कार्यक्रमको स्वीकार्यतामा समस्या देखिएका छन् । यति हुँदा पनि कार्यक्रमहरूले केही हदसम्म सुधार पनि लिएर आएको छ ।

आशा र गुनासा
अपराध नियन्त्रण, अपराध अनुसन्धान र शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीसँग जनताको आशा पनि छ र यदाकदा केही घटनाबाहेक गुनासा पनि देखिराखेका छन् । गुनासा भनेका समयमा नआई दिने, उजुरी गर्न गए भने ध्यान नदिने, पीडितसँग सरोकार भएको घटनाको जानकारी नदिने । प्रहरीका पनि बाध्यता छन् । श्रोत साधनको कमी, डिउटीको लामो कार्यघन्टा जस्ता कुरालाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? यसमा सरकारको ध्यान पुग्न जरुरी छ । यी जनताको सरोकारका विषय होइनन् तर यसले प्रहरीको कार्यक्षमतालाई असर गर्छ र गरी राखेको पनि छ ।

वृद्ध नागरिक
आफ्नो भविष्यका लागि विदेश जाने र त्यहीँ बस्ने नेपालीको सङ्ख्या बढ्दै छ । छोरा छोरी विदेश जाँदा बर्सेनि वृद्धहरूको सङ्ख्या बढ्दै छ । एक्लै हँंदा असुरक्षित छन् । अपराधीको सजिलो निशानामा हुने सम्भावना रहन्छ । त्यसैले सरकारले प्रहरीलाई हेर भनेर मात्रै हुँदैन, यसको लागि विशेष कार्यक्रम नै लागू गर्नुपर्छ साधन श्रोत सहित । किनकि भविष्यमा यो सङ्ख्या बढ्दै जाने छ । आफ्नो ऊर्जावान् समय राष्ट्रका लागि दिएको परिस्थितिवश एक्लै जीवन व्यथित गरी रहेका हाम्रा अग्रज हरूको सुरक्षा गर्ने जिम्मेवारी राष्ट्रको हो ।

समाजसँग प्रहरीको आशा
प्रहरीको पनि जनतासँग केही आशा छन् । जनताले आफूले देखेको सुनेको सूचना प्रहरीलाई जानकारी देओस् जसले अपराध नियन्त्रण र अपराध अनुसन्धानमा सहयोग पुगोस् । बिना सूचना अपराध नियन्त्रण, अपराध अनुसन्धानमा प्रहरी सफल हुन सक्दैन । धेरै जस्तो अपराध अनुसन्धान जनताद्वारा सूचना पाएर प्रहरीले सफलता पाएको छ ।

सामुदायिक प्रहरी स्थापना भएको पाँच दशक हुन थाली सकेको छ । सानो समूहमा खटिएको सामुदायिक प्रहरीको कार्यालय नेपाल भरी करिब पाँच सयको हाराहारीमा पुग्न थालेको छ । सानो क्षेत्रमा भए पनि यसले समाजसँग नजिक रहेर काम गरी राखेको छ र जनविश्वास पनि कमाएको छ । प्रहरीको काम नै समुदायलाई विश्वासमा लिएर समुदायसँग मिलेर जाने हो ।

समुदायलाई विश्वासमा लिएर काम गर्दा प्रहरीलाई सफलता मिल्छ तर समुदायसँग टाढिएर काम गर्ने प्रहरी कार्यालय एकातिर काम गर्न सजिलो हुँदैन र अर्कोतर्फ अपराध नियन्त्रण, अपराध अनुसन्धान र शान्ति सुरक्षामा चाहे जस्तो सफलता मिल्दैन पनि । तसर्थ फिल्डमा खटिई जाने प्रहरी कर्मचारीले बुझ्न जरुरी छ कि जनतासँग नजिक रहेर, जनभावना बुझेर काम गर्ने हो भने मात्रै चाहे जस्तो सफलता हासिल गर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस