सभापति पदमा मेरो दाबी कायमै छ : नेता सिंह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सभापति पदमा मेरो दाबी कायमै छ : नेता सिंह


२३ मंसिर २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको बताएका छन् ।

काठमाडौँको बानेश्वरमा आज (बिहीबार) बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको सालिक अनावरण गर्दै नेता सिंहले १४ औँ महाधिवेशनमा सभापति पदको दौडबाट पछि नहट्ने बताएका हुन् ।

काँग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन सभापतिमा आफूले दाबी गरेको सिंहले बताए ।

काँग्रेसको संस्थापन इतर समूहमा सभापति पदका आकाङ्क्षीहरूले आफ्नो दाबी नछाड्दा उम्मेदवार टुङ्गो लगाउन सकस परिरहेको बेला सिंहको यस्तो भनाइ सार्वजनिक भएको हो ।

संस्थापन इतर समूहबाट सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला आकाङ्क्षी छन् ।

शशांकले सहमति भए आफू पछि हट्ने बताएका छन् भने पौडेलले सिंह र शेखरबीच सहमति नभए सभापतिको रुपमा आफू अघि बढ्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस