लेनदेनको विषयमा विवाद हुँदा युवा सङ्घका नेताको हत्या « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लेनदेनको विषयमा विवाद हुँदा युवा सङ्घका नेताको हत्या


२२ मंसिर २०७८, बुधबार


हत्या

काठमाडौँ । पैसा लेनदेनको विषयमा विवाद हुँदा युवा सङ्घका भक्तपुर जिल्ला नेता राजन श्रेष्ठको हत्या भएको खुलेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले राजनबाट २५ लाख रुपैयाँ लिएका हेमन्त श्रेष्ठले लेनदेन विवादमा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएका छन् ।

प्रहरीले भक्तपुरका हेमन्त श्रेष्ठ र मोरङको लेटाङका प्रेम विश्वकर्मालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रारम्भिक अनुसन्धानमा हेमन्तले राजनबाट २५ लाख रुपैयाँ लिएको र केही रकम तिर्न बाँकी रहेका विषयमा लामो समयदेखि दुई पक्षबिच विवाद देखिएको प्रहरीले जनाएको छ ।

हेमन्तले मंगलबार राति पैसा दिन भनेर बालकोट जाने फलामे पुलनिर बोलाएको र उनका साथी प्रेम विकसहित मिलेर हत्या गरेको बताइएको छ । एसएसपी खापुङले घटना पैसा लेनदेन विवादकै कारण भएको देखिएको र यसको सबै पक्षबारे अनुसन्धान भइरहेको बताए ।

प्रहरीले मिटर ब्याजको विवादका कारण घटना भएको हुनसक्ने आँकलन गरेको छ । कुटपिटबाट गम्भीर घाइते श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो । उनको शव अहिले मध्यपुर अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार : बालकोटमा कुटपिट र धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या

Tags :
प्रतिक्रिया दिनुहोस