काँग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेस सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा


२२ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस नेत्री एवं पूर्व राज्यमन्त्री सीता गुरुङले पार्टीको शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उनले आदिवासी/जनजाति क्लष्टरतर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनी हाल काँग्रेसको केन्द्रीय आदिवासी जनजाति विभागको प्रमुखसमेत छिन् । काँग्रेस विधानमा समावेशीका विभिन्न क्लष्टरसहितका आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

पार्टीको पदाधिकारीमा महिलाको सङ्ख्या बढ्नुपर्ने बताउँदै उनले आफूले लामो समयदेखि पार्टीमा काम गर्दै आएको भूमिकाका आधारमा उम्मेदवारी घोषणा गरेको बताइन् ।

तेह्रथुमको आठराईमा जन्मिएकी नेत्री गुरुङसँग नेविसङ्घको जिल्ला तहको नेतृत्वमा रहेर काम गरेको अनुभव छ । उनले नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव भएर काम गरेकी थिइन् ।

पार्टीको १२औँ र १३औँ महाधिवेशन पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित उनी २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काँग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवार थिइन् ।

दुवै संविधानसभामा सदस्य रहेकी नेत्री गुरुङ २०७४ सालको नेका नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस