खोप नलगाएकालाई जिम्बाबेको सार्वजनिक यातायातमा प्रतिबन्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खोप नलगाएकालाई जिम्बाबेको सार्वजनिक यातायातमा प्रतिबन्ध


२२ मंसिर २०७८, बुधबार


हरारे । जिम्बाबेमा कोरोनाभाइरसविरुद्धको खोप नलगाएका नागरिकलाई सार्वजनिक यातायातमा प्रतिबन्ध लगाइएको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण थप फैलिन थालेपछि उच्च सतर्कता अपनाउने सिलसिलामा यस्तो नियम लागू गरिएको हो । सरकारले कोरोनाको महामारी थप फैलिन नदिनका लागि थप चासो देखाएको छ ।

‘पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा वृद्धि भएको छ, त्यसैले मन्त्रीपरिषद्ले कडाइ गर्ने निर्णय गरेको हो,’ सञ्चारमन्त्री मोनिका मुत्सभाङ्वाले भनिन् । सरकारले सबैलाई खोप लगाउनका लागि अनुरोध गरेको र नलगाउनेलाई अरु पनि धेरै ठाउँमा वञ्चित र निषेध गरिने उनले बताइन् ।

उनले खोप लगाउनका लागि विभिन्न वसपार्कलगायत देशभरका विभिन्न ठाउँमा व्यवस्था गरिएको जानकारी दिइन् । खोप नलगाएकाहरुलाई सरकारी निकाय वा भिडभाड हुने सार्वजनिक स्थलमा नजान पनि उनले आग्रह गरिन् ।

उनले शैक्षिक संस्थाहरुमा पनि खोप लगाउन उमेर पुगेकाहरुले लगाउनु पर्ने र त्यही अनुसारको सतर्कता अपनाउनु पर्नेमा जोड दिइन् ।

सरकारी तथ्याङ्कअनुसार जिम्बाबेमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४१ हजार ६०१ जना सङ्क्रमित भएका छन् । ती मध्ये चार हजार ७१३ जनाको मृत्यु भएको छ भने एक लाख २८ हजार ९६६ जना सङ्क्रमणमुक्त भएका छन् ।

देशभरका ३८ लाख ८२ हजार २५५ जनाले कम्तीमा एउटा खोप लगाएका छन् भने २८ लाख ९२ हजार ३६६ जनाले दुवै खोप लगाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस