एसओएसद्वारा चार बालबालिकाको उद्धार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसओएसद्वारा चार बालबालिकाको उद्धार


२२ मंसिर २०७८, बुधबार


तम्घास । गुल्मीमा लामो समयदेखि अभिभावकविहीन चार बालबालिकालाई एसओएस बालग्राम भैरहवाले उद्धार गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा मदाने गाउँपालिकाका दुई र मालिकाका दुई बालबालिकालाई एसओएसले संरक्षण गरेको हो ।

मदाने–५ मलायगिरीका चार वर्षीय बालक कुलदीप र १३ वर्षीया बालिका लक्ष्मी विक चार वर्षदेखि अभिभावकविहीन थिए । मालिका–३ ह्वाङदीका पाँच वर्षीय सन्दीप र तीन वर्षीय प्रदीप घर्ति मगर १४ महिनादेखि अभिभावकविहीन भएका थिए । लामो समय बालबालिकाको बिचल्ली भएपछि इन्सेक गुल्मीसँग आफन्त र वडा कार्यालयबाट संरक्षणमा पहल गर्न निवेदन पेस भएको थियो ।

बालबालिकाको संरक्षण गर्न इन्सेकको पहलमा जिल्ला प्रशासन कार्यालय र दुवै स्थानीय तहको समन्वयमा एसोएसमा बालबालिका भर्ना गरिएको इन्सेक गुल्मीका प्रतिनिधि टोपलाल अर्यालले जानकारी दिए ।

मदानेका दुई दिदीभाइ गाउँपालिका उपाध्यक्ष सरिता खड्का र मालिकाका दुई दाजुभाइ वडाध्यक्ष राजकुमार विकले एसोएसमा लगेर भर्ना गरेका हुन् । एसोएस भैरहवाको टोलीले कात्तिक ११ गते गाउँ आएर बालबालिकाको वास्तविक अवस्थाको प्रतिवेदन बनाएको थियो ।

प्रतिवेदनका आधारमा बालबालिकालाई एसोएस बालग्राममा भर्ना गरिएको कार्यालय प्रमुख गोविन्द ढकालले जानकारी दिए । भर्ना भएकामध्ये दिदी लक्ष्मी विक काठमाडौँ होटलमा काम गर्थिन् ।

ढकालले अभिभावकविहीन बालिका होटलमा बालश्रम गरिरहेको पाइएपछि एसओएसको प्रतिवेदनका आधारमा बालिकालाई होटलबाट समेत उद्धार गरिएको बताए। एसओएसको सिद्धान्तमा पनि भाइबहिनीलाई छुटाउन नपाइने भएकाले होटलबाट समेत उद्धार गरेर संरक्षण गर्न पाएकामा ढकालले खुसी व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस