कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय बन्द


२२ मंसिर २०७८, बुधबार


बैतडी । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रो पटक बन्द गरिएको छ ।

जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो ।

यस्तै मङ्गलबार थप एक छात्रामा कोरोना देखिएपछि थप तीन दिन मङ्सिर २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षिका सुशीला भण्डारीले जानकारी दिए।

सङ्क्रमित विद्यार्थीको सम्पर्कमा रहेका विद्यार्थी र शिक्षकको कन्ट्र्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले थप तीन दिन विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

यसअघि सो विद्यालयमा अध्ययनरत एक छात्रा मङ्सिर १७ गते कोरोना देखिएपछि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो । थप एक छात्रामा कोरोना देखिएपछि विद्यालय फेरि तीन दिनका लागि बन्द गरिएको हो ।

यस जिल्लामा हाल कोरोनाका चार जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सबै पाटन नगरपालिकाकै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’छिमेकी देश भारतमा समेत देखा परेकाले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोनाका कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस