प्रधानन्यायाधीशलाई महाभियोग लगाएर हटाउँदैमा न्यायालय सुधार हुँदैन : अध्यक्ष ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीशलाई महाभियोग लगाएर हटाउँदैमा न्यायालय सुधार हुँदैन : अध्यक्ष ओली


२१ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् ।

नेपाल बार एशोसिएसनको टोलीसँग आज (मंगलबार) आफ्नै निवास बालकोटमा भएको भेटमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित कानून व्यवसायीको टोली आज ओली निवास बालकोट पुगर न्यायालयमा देखिएको समस्या न्यायालयबाटै समाधान नहुने भन्दै प्रधानन्यायाधीश जबरालाई महाभियोगबाट हटाउन सहयोग मागेका थिए ।

अध्यक्ष ओलीले कानुन व्यवसायीहरुको थुप्रै कुरा जायज भएपनि प्रधानन्यायाधीशको राजीनामा प्रस्थान विन्दु नभई अन्त्य भएको बताए । त्यसबाट न्यायिक सुधार अगाडि जानुको साट्टो पूर्णविराम लाग्ने बताए ।

उनले न्यायालय अहिले स्वच्छ र निष्पक्ष दुवै नभएको जिकिर गरे । ‘न्यायालय न स्वच्छ रह्यो न निष्पक्ष रह्यो’ ओलीले कानुन व्यवसायीलाई भने, ‘यहाँहरुले स्वच्छताको त कुरा उठाउनुभयो निष्पक्षताको प्रश्न उठेन कि जस्तो लाग्यो । आफू अधिवक्ता भएकाले पो हो कि ?’

ओलीले प्रधानन्यायाधीशले राजीनामा गर्दैमा वा महाभियोग लगाएर हटाउँदैमा न्यायालय सच्याउने सुरुवात नहुने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस