उच्चस्तरको भ्रमण र वैदेशिक लगानीलाई प्राथमिकता दिन्छौँ : प्रस्तावित राजदूतत्रय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उच्चस्तरको भ्रमण र वैदेशिक लगानीलाई प्राथमिकता दिन्छौँ : प्रस्तावित राजदूतत्रय


२० मंसिर २०७८, सोमबार


काठमाडौँ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतले मुलुकको राष्ट्रियहित र स्वाधीनतालाई शिरमा राखेर आर्थिक कूटनीतिद्वारा लगानी भित्र्याउन भरमजदुर प्रयास गर्ने बताएका छन् । संसदीय सुनुवाइका क्रममा उनीहरूले नेपालको विकास र समृद्धिका सहयात्री मुलुकसँग बृहद् राष्ट्रिय स्वार्थका आधारमा विश्वास स्थापित गर्न हरसम्भव प्रयत्न गर्ने अठोट व्यक्त गरेका हुन् ।

सरकारले भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएकामा समितिले सर्वसम्मतिबाट तीनै जनाको नाम अनुमोदन गरेको छ ।

समितिसमक्ष आफ्नो अनुभव, योग्यता, क्षमता, अभिरुचि र अवधारणा प्रस्तुत गर्ने क्रममा उनीहरुले नियुक्ति भएर जाने तत् देशबाट उच्चस्तरको भ्रमणका लागि विशेष पहल गर्ने, त्यहाँ रहेको नेपालीको हितमा काम गर्ने र लगानी भित्र्याउने विषयलाई प्राथमिकतामा राखेर प्रतिबद्धता जनाए ।

उनीहरूले मुलुकको संविधान र परराष्ट्र नीतिका आधारमा विवेक पुर्‍याई कर्तव्यनिष्ठ भएर वैदेशिक सहयोग प्रवर्द्धनका लागि जोड दिने बताए ।

यसअघि बैठकमा सदस्यहरूले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र धन नेपालमा भित्र्याउने सुझाव दिए । उनीहरुले राजनीतिक प्रक्रिया र कूटनीति संयन्त्रका आधारमा समृद्धि भित्र्याउन भूमिका खेल्न तथा युवाको सपनालाई साकार तुल्याउने कामका लागि कार्यायोजना बनाएर काम गर्न निर्देशन दिए ।

अघिल्लो सरकारले नियुक्ति गरेका तत्तत् देशका राजदूत फिर्ता बोलाएपछि ती मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस भएका तीनैजनाको नाम अनुमोदन भएसँगै नियुक्तिका लागि बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट उनीहरुको नियुक्ति हुनेछ । प्रस्तावित तीनैजना नेपालको आर्थिक र कूटनीतिक क्षेत्रका हस्तीका रुपमा परिचयन बनाएका व्यक्तित्व हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस