मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य सतर्कता अपनाउन आग्रह


२० मंसिर २०७८, सोमबार


जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रसिद्ध सीताराम विवाह पञ्चमीमा सहभागी हुने श्रद्धालुहरुलाई स्वास्थ्य मापदण्डको परिपालना गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले विवाह पञ्चमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाउन श्रद्धालुहरुमा आग्रह गरेका हुन् ।

विवाह पञ्चमी महोत्सको महत्वपूर्ण दिन बुधबार नेपाल र भारतबाट ठूलो सङ्ख्यामा श्रद्धालुहरु जनकपुरधाम आउने भएकाले कोरोनाको जोखिम बढ्न सक्ने जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य सतर्कता अपनाउन मुख्यमन्त्री राउतले अपिल गरेका छन् ।

त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा भव्यतापूर्वक सीताराम विवाहपञ्चमी महोत्सव मनाउँदै आइएको छ । विवाह पञ्चमीका अवसरमा प्रदेश २ सरकारले मङ्सिर २२ गते बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । यस्तै, जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरक्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मङ्गलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए । विवाहपञ्चमीको मेलाका कारण हुने भीडभाडलाई दृष्टिगत गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मङ्सिर २१ देखि २३ गतेसम्म बिदा दिने निर्णय भएको प्रमुख यादवले बताए ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय धनुषाले सीताराम विवाहपञ्चमीमा बहुमूल्य गरगहना लगाई सहभागी नहुन आग्रह गरेको छ । धनुषाका प्रजिअ बन्धुप्रसाद बाँस्तोलाले आज सूचना जारी गरी विवाहपञ्चमी महोत्सवमा अत्यधिक भीडभाड हुने भएकाले महँगो मूल्यका गरगहना लगाएर सहभागी नहुन आग्रह गरेका हुन्। भीडभाडमा जोखिमयुक्त सामानसमेत लिएर नजान आग्रह गर्दै कोरोनाको जोखिम पनि कायमै रहेकाले विवाहपञ्चमीका सहभागीलाई अनिवार्य मास्क प्रयोग गर्नसमेत प्रजिअ बाँस्तोलाले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस