न्यायिक समितिद्वारा १३२ मुद्दा फर्स्योट « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

न्यायिक समितिद्वारा १३२ मुद्दा फर्स्योट


२० मंसिर २०७८, सोमबार


म्याग्दी । जिल्लाको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ मुद्दा फर्स्योट गरेको छ । मालिकाको न्यायिक समितिमा जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फर्स्योट भएको हो ।

आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ को कात्तिक महिनासम्म १३६ वटा मुद्दा दर्ता भएकोमा १३२ वटा मुद्दा फर्स्योट गरेको समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताए ।

‘अधिकांश मुद्दाका दुई पक्षबिच मेलमिलाप गरेर समाधान गरिएको छ’, उनले भने, ‘धेरैजसो पारिवारिक, घरजग्गा र लेनदेन सम्बन्धी मुद्दा आउँछन् ।’ आर्थिक वर्ष २०७४/७५ का ६० र २०७५/७६ मा ५६ वटा मुद्दा दर्ता भएकोमा सबै मुद्दा सोही वर्ष फर्स्योट भएका थिए ।

२०७६/०७७ मा दर्ता भएका ५३ मध्ये ५२, २०७७/७८ का ३२ मध्ये २२ वटा फर्स्योट भएका थिए । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा चार वटा दर्ता भएकोमा दुई वटा फर्स्योट भएका छन् ।

बिटालुको संयोजकत्वमा दोरण शेरचन र भीम पुन सदस्य रहेको न्यायिक समितिले परेका उजुरीको दुवै पक्षलाई छलफल गराई विवाद समाधान गराउँदै आएको छ । मालिकामा ३६ मेलमिलापकर्ता छन् ।

स्थानीय स्तरमै न्यायिक काम हुँदा अदालत र प्रहरीमा धाउनुपर्ने समय र त्यहाँ जाँदा हुने खर्च बचेको सेवाग्राहीले बताएका छन् । न्यायिक समितिको इजलास स्थापना गरे पनि कानुनी विशेषज्ञको आवश्यकता खड्किएको उपाध्यक्ष बिटालुले बताए ।

यसै गरी बेनी नगरपालिकाको न्यायिक समितिले गत वर्ष १९ वटा उजुरी परेकोमा १७ वटाको फैसला गरेको छ । मङ्गला गाउँपालिकाले गत आर्थिक वर्षमा ७३ वटा उजुरी दर्ता भएकोमा ६६ वटा फैसला भएको र यस वर्ष दर्ता भएका छ वटा मुद्दा फर्स्योटको क्रममा रहेको छ ।

रघुगङ्गाकी उपाध्यक्ष कमला तिलिजाले गत वर्ष नौ वटा उजुरी दर्ता भएकोमा पाँच वटा मेलमिलाप भएको, दुई अदालतमा पठाइएको र दुई यस वर्षलाई जिम्मेवारी सरेको जानकारी दिए । उनले इजलास नहुँदा न्यायिक समितिको कामकाज प्रभावित बनेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस