राप्रपाको मनोनयन दर्ता आज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राप्रपाको मनोनयन दर्ता आज


१७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) उम्मेदवारी दर्ता हुँदै छ ।

मतदाताको विवाद टुङ्ग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दाबी विरोध पश्चात् उम्मेदवारी दर्ता गर्ने छ ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकिएको छ।

मनोनयनको नाममाथि दाबी विरोध, अन्तिम नामावली प्रकाशन पनि शुक्रबार नै हुने र शनिबार मतदान हुने उनले बताए ।

राप्रपाको महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् । आगामी कार्यकालका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उपाध्यक्षका उम्मेदवार विक्रम पाण्डेको नाम दुवै प्यानलमा छ ।

थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही चुनाव लड्दैछन् ।

लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बन्नेछन् ।

अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मेसिनमा उम्मेदवारको नाम सेटिङ गर्न कम्तीमा २० घण्टा समय लाग्ने प्राविधिकले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस