दुई हजार विद्यार्थी जीर्ण भवनमा ज्यान जोखिममा राखेर पढ्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई हजार विद्यार्थी जीर्ण भवनमा ज्यान जोखिममा राखेर पढ्दै


१५ मंसिर २०७८, बुधबार


जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयमा ‘नमुना विद्यालय’का लागि बजेट आएको दुई वर्ष बितिसक्यो । तर निर्माणको कुनै सुसार छैन ।

जिल्लाकै पुरानो विद्यालय लचमुमा आर्थिक वर्ष २०७६/७७ मा र आव २०७७/७८ मा गरी रु तीन करोड रकम विनियोजन गरिँदा पनि नमुना विद्यालयको जग समेत हाल्न सकिएको छैन ।

प्रधानाध्यापक सञ्जीवकुमार झाका अनुसार सरकारले नमुना विद्यालय कार्यक्रमअन्तर्गत सो विद्यालयलाई भौतिक संरचना निर्माण र शैक्षिक अवस्था सुधार गर्न वर्षेनी रु डेढ करोडका दरले पाँच वर्षसम्म रकम उपलब्ध गराउनेछ ।

अहिले दुई आर्थिक वर्षको रकम पनि पठाइसकेको छ । विद्यालयमा आन्तरिक कलह र भागबन्डा नमिल्दा नमुना विद्यालयको काम अगाडि बढ्न नसकेको स्थानीयवासीको आरोप छ ।

प्रधानाध्यापक झाले नमुना विद्यालय निर्माणका लागि रु तीन करोड विद्यालयको खातामा आएको जानकारी दिए । ‘जलेश्वर नगरपालिका र वडा कार्यालयले सहयोग नगरेका कारण काम अघि बढेको छैन’, उनले भने ।

स्थानीय तहसँग समन्वय र सहकार्य गरी प्राविधिक सहयोग लिएर कामको थालनी गर्न निर्देशन आएको भए पनि नगरपालिकाले प्राविधिक नपठाउँदा बोलपत्र प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ ।

विद्यालयमा १२ कोठे तीन तले भवन, हल र पुस्तकालय बनाउने योजना छ । रु दुई करोड ५० लाख भवन निर्माणतर्फ र रु ५० लाख शैक्षिक अवस्था सुधारतर्फ खर्च गर्ने योजना रहेको झाले बताए ।

वडाध्यक्ष बरुणकुमार दाहाल र जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई सहयोगका लागि पटक–पटक मौखिक र लिखित अनुरोध गरिए पनि दुवै जनाले उदासीनता देखाएको प्रधानाध्यापक झाको आरोप छ ।

विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीच समन्वयको अभाव देखिएको छ । व्यवस्थापन समितिको पहलमा नगरपालिकाले प्राविधिक सहयोग गरेपछि मात्रै बोलपत्र प्रक्रियामा जाने भएकाले नमुना विद्यालयको काम अघि बढ्नेमा अन्योल छ ।

वडाध्यक्ष दाहालले आफूले विद्यालय निर्माणका लागि सक्दो पहल गरेको बताए । जलेश्वर नगरपालिकाका प्रमुख मिश्रको भने कामको सुरुआत नहुनुमा विद्यालय नै दोषी भएको आरोप छ ।

‘प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीच नै समझदारी छैन’, उनले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबु साह नगरपालिकाले प्राविधिक सहयोग नगरेका कारण काममा बाधा पुगेको बताए ।

दुई वर्षअघि तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश नं २ का तत्कालीन सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश नं २ का प्रदेशसभा सदस्य रानीकुमारी तिवारीसहितको टोलीले नमुना विद्यालयको शिलान्यास गरेका थिए ।

विद्यालयमा हाल दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कक्षाकोठा अभावमा उनीहरु जीर्ण भवनमा पठनपाठन गर्न बाध्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस