डोटीका बाढी पहिरो पीडितलाई राहत वितरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटीका बाढी पहिरो पीडितलाई राहत वितरण


१५ मंसिर २०७८, बुधबार


डोटी । गत असोज ३१ गतेदेखिको वर्षाका कारण आएको बाढी पहिरोले पीडित बनेका यहाँको सायल गाउँपालिका वडा नं १ देखि ५ का १५० भन्दा बढी घर परिवारलाई राहत वितरण गरिएको छ ।

वडा तथा गाउँपालिकासँगको समन्वयमा मानवीय सेवामा अनेकौँ प्रयास नामक संस्था साइन नेपाल धनगढीले केयर एन्ड रिलिफ परियोजनाको आपत्कालीन राहत कार्यक्रमअन्तर्गत उक्त राहत वितरण गरेको हो ।

उक्त संस्थाले पीडित परिवारलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल, दुई पोका स्वयाबिन र एक थान कम्बल वितरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए । यसै गरी उक्त बाढी पहिरामा परी ज्यान गुमाएका यहाँका छ जनाको परिवारलाई राहतसँगै नगद पाँच हजार पनि प्रदान गरिएको छ ।

संस्थाले जिल्लाकै आदर्श गाउँपालिका–५ का १२४ घरपरिवारलाई पनि राहत वितरण गरेको छ । बाढी पहिरामा परी खेतीयोग्य जमिन र घरबारविहीन भएका यहाँका नागरिकलाई २५ किलो चामल, तीन किलो दाल, एक लिटर तेल, दुई पोका सोयाबिन र एक थान कम्बल वितरण गरेको संस्थाका कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिए ।

बाढी पहिरो पीडितले स्थानीय सरकारसँग राहत तथा व्यवस्थापनका लागि पटक पटक माग गरे पनि तत्काल दिन सकिने अवस्था नभएपछि साइन नेपालले राहत सहयोग गरेको वडाध्यक्ष टीका सिंहले बताए । जिल्लामा विपद्, महामारीलगायतका घटना हुँदा उक्त संस्थाले विभिन्न कार्यक्रम ल्याएर यहाँका नागरिकलाई राहत प्रदान गर्ने गरेको आदर्श गाउँपालिकाका स्थानीय हरि खड्काले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस