माओवादी केन्द्रको अधिवेशन: बैतडीका तीन वटा पालिकामा नयाँ नेतृत्व चयन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रको अधिवेशन: बैतडीका तीन वटा पालिकामा नयाँ नेतृत्व चयन


१४ मंसिर २०७८, मंगलबार


बैतडी । नेकपा माओवादी केन्द्रले बैतडीमा पनि पालिका अधिवेशन कार्यलाई अघि बढाएको छ ।

मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको तीन पालिकामा अधिवेशन सम्पन्न भएको हो ।

माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार पुर्चौंडी नगरपालिका, दोगडाकेदार र सिगास गाउँपालिकामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट तीन वटै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।

पुर्चौंडी नगरपालिकामा आनन्द सिंह धामीको अध्यक्षतामा ६५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा उज्ज्वल सिंह साउँद, लीला जोशी, मने लुहार, सचिवमा धर्मानन्द बडू, सहसचिवमा निराजन ढुँगाल र कोषाध्यक्षमा पुष्कर विष्ट चयन भएका हुन् ।

दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको जनाएको छ । उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड, सहसचिवमा जयन्त बिष्टलगायत अन्य सदस्यहरु रहेका छन् ।

यस्तै सिगास गाउँपालिकामा प्रकाश साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । सो कमिटीको उपाध्यक्षमा उद्धव धामी, लक्ष्मण धामी र लक्ष्मी पोखरेल, सचिवमा रवीन्द्र चन्द, कोषाध्यक्षमा भीम धामी र सहसचिवमा दानसिंह साउँद चयन भएका छन् ।

अन्य बाँकी सात पालिकाहरुमा पनि मङ्सिर २५ गते अगाडि नै पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बैतडीले जनाएको छ । माओवादी केन्द्रले पहिलो पटक देशभर एकै दिन पालिका अधिवेशन गरेको हो ।

तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलो पटक विधिवत् रूपमा समिति बनाइएको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

माओवादी केन्द्रले २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा उक्त पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस