पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छ: अध्यक्ष डा. लोहनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छ: अध्यक्ष डा. लोहनी


१४ मंसिर २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको आसन्न महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न अध्यक्ष पदमा राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष लोहनीले देशभरबाट छनोट भएर महाधिवेशनमा आएका प्रतिनिधिमध्ये अधिकांशको चाहना र भावना युवालाई नेतृत्वमा पुर्याउने रहेको उल्लेख गर्दै त्यसलाई आफूले सम्मान गरेर अध्यक्ष पदमा लिङ्देनलाई सहयोग गर्ने बताए।

उनले अध्यक्ष द्वय पशुपतिशम्शेर जबरा र कमल थापालाई पनि पार्टीमा अभिभावकीय भूमिका निर्वाह गरी नयाँ पुस्तालाई सहयोग गर्न आग्रह गरे ।

‘युवा नेतृत्वले पार्टीलाई एकताबद्ध गरेर देश र जनताको हितमा क्रियाशील भई प्रजातान्त्रिक पद्धतिबाट पार्टीको मूल सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्छ’, उनले भने, ‘पार्टीको संस्थागत विकास र सङ्गठनात्मक सुदृढीकरणका लागि पार्टीको नेतृत्वमा युवालाई पुर्याउनुपर्ने अहिलेको आवश्यकता हो ।’

करिब दुई वर्षअगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकता भएपछि पहिलो पटक यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुन लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस