कांग्रेस वडा अधिवेशन : सर्लाहीमा झडप हुँदा निर्वाचन अधिकृतसहित ६ घाइते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कांग्रेस वडा अधिवेशन : सर्लाहीमा झडप हुँदा निर्वाचन अधिकृतसहित ६ घाइते


१३ मंसिर २०७८, सोमबार


सर्लाही । नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनस्थलमा झडप भएको छ । बलरा नगरपालिका-८ गहडीयामा झडप हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका छन् ।

कांग्रेसको एउटा समूहले आफूहरुसँग बहुमत रहेको भन्दै मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले अधिवेशन गराउन खोजेपछि झडप भएको हो । मतदान अधिकृत झालाई प्रहरीले मतदानस्थलबाट उद्धार गरी लैजान खोज्दा उनीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

सो क्रममा प्रहरी निरीक्षक सुरेश ठाकुर, प्रहरी सहायक निरीक्षक अरुणकुमार यादव, प्रहरी हवल्दारद्वय अवधेशप्रसाद यादव र राजेश चौधरी तथा प्रहरी जवान रामानन्द यादव घाइते भएका छन् । प्रहरीले झडपलाई नियन्त्रणमा लिन तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

गम्भीर घाइते निर्वाचन अधिकृत झा र प्रहरी सहायक निरीक्षक यादवलाई उपचारका लागि वीरगञ्ज पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए । अन्य घाइतेको जिल्ला अस्पताल मलङ्गवा र सर्लाहीमा उपचार भइरहेको छ । झडपपछि वडा अधिवेशन स्थगित गरिएको छ ।

यसअघि आइतबार पनि बलरा नगरपालिका–९ अचलगढमा कांग्रेसको दुई समूहबीच झडप भएको थियो । जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकाका दुई सय वडामध्ये आइतबार १६० भन्दा बढी वडामा सहमतिबाटै नेतृत्व चयन भएको थियो । बाँकी वडामा आज मतदान प्रक्रिया अघि बढाइएको जिल्ला निर्वाचन अधिकृत भरत राउतले बताए । जिल्लामा सदस्यता सम्बन्धी विवाद रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस