कोभिड-१९ नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम रोक्न के छ सरकारको तयारी ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोभिड-१९ नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम रोक्न के छ सरकारको तयारी ?


१३ मंसिर २०७८, सोमबार


काठमाडौँ । कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) विभिन्न देशमा फैलिन थालेपछि विश्वको चासोको विषय बनेको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन आफ्नो देशमा फैलिन नदिन अमेरिकाले न्युयोर्कमा सङ्कटकाल घोषणा गरेको छ भने बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, इजरायल, जर्मनी, ब्राजिल, बेल्जियम, रुस र हङकङले भाइरस फैलिन नदिन कडाइ गरेका छन् । विभिन्न देशले उच्च सतर्कता अपनाउन सुरु गरेपछि नेपालमा पनि यसबारे निगरानी बढाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन सक्ने सम्भावना रहेको भन्दै स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्ने जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डा.समीर अधिकारीले मानिसहरूको आवतजावत हुँदा भाइरस फैलिने जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्ने बताए । डा. अधिकारीसँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

अफ्रिकामा देखिएको ओमिक्रोनको जोखिम नेपालमा कतिको छ ?
नेपाल मात्रै होइन, विश्वका सबै देशहरू कोभिड-१९ को जोखिममा छन् । तत्कालीन अवस्थामा नेपाल जोखिममा छैन । किनकि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा आइसेकेको पुष्टि भइसकेको छैन । तर, आवतजावत र जनस्वास्थ्यका मापदण्ड पालनाको अवस्थालाई हे¥यौँ भने हामी जोखिमै छौँ भन्नु पर्छ ।

छिमेकी मुलुक भारतको आवतजावत धेरै देशसँग छ र नेपालको आवतजावत भारतमा बाक्लो छ । भारतसँग आवतजावत बाक्लो भएका कारण नेपाल पनि जोखिममा छ ।

रोकथामका लागि तत्काल अपनाउनु पर्ने सावधानी के त ?
नाकामा निगरानी
विश्वका विभिन्न देशमा कोभिड–१९ को नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल प्रवेशका विभिन्न नाकामा निगरानीलाई चुस्त दुरुस्त बनाउन समन्वय अगाडी बढाइ सकेको छ । बाहिरबाट आउने व्यक्तिको निगरानी र परीक्षण गर्ने कार्यलाई तीव्रता दिइएको छ ।

निगरानी र परीक्षणबारे विभिन्न निकायसँग समन्वय भइरहेको छ । मानिसहरूको आवतजावत र अन्तर्राष्ट्रिय उडानका विषयमा सम्बन्धित देशसँगको समन्वयका आधारमा आवश्यक निर्णय हुने छ ।

अनिवार्य क्वारेनटाइन
नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिका हकमा कोभिड-१९ को रिपोर्ट नेगेटिभ भएको प्रमाण नभएमा उनीहरूलाई प्रतिबन्ध लगाइएको छ । यस्तै कोभिड विरुद्धको पूर्ण मात्रा खोप लगाएको कम्तीमा दुई हप्ता पुगेको हुन पर्ने छ ।

खोप नलगाएको व्यक्ति अनिवार्य रूपमा क्वारेनटाइनमा बस्नु पर्ने छ । यसलाई कडाइका साथ लागू गरिने छ । नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रवेश गर्ने व्यक्तिको अनिवार्य पीसीआरको तयारी मन्त्रालयले गरेको छ ।

प्रयोगशालासँग समन्वय
विदेशबाट आएका व्यक्तिमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएमा जिन सिक्वेन्सिङ गर्ने प्रबन्ध अघि बढाइएको छ । यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र अन्तर्राष्ट्रिय स्तरका प्रयोगशालाहरूसँग समन्वय भइरहेको छ ।

ती प्रयोगशालामा नमुना पठाएर जिन सिक्वेन्सिन गर्ने कार्य अघि बढाइएको हो । केही नमुना पठाइसकेका छौँ ।

स्वास्थ्य मापदण्ड पालनामा कडाइ
कोभिड-१९ को रूप परिवर्तन भएर जति बेला पनि जोखिमको अवस्था आउन सक्छ भन्ने प्राविधिक पक्षबाट थाहा भएको विषय हो ।

कोभिडबाट बच्नका लागि हामीले दुई वर्षमा सिकेका कुरालाई भुल्नु हुँदैन र सिकेका कुरालाई निरन्तरता दिनु पर्छ । यस विषयमा मन्त्रालयले बारम्बार आग्रह गरिरहेको छ ।

विश्वमा नयाँ भेरियन्ट देखिएपछि नेपालमा भइरहेका कार्य र रणनीतिलाई समायनुकुल बनाउनु पर्ने बाध्यता छ । अर्कोतर्फ कोभिड विरुद्धको खोप अभियानलाई तीव्रता दिने, जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ गर्ने, कोभिडको निगरानी बढाउने विषयलाई तीव्रता दिन केन्द्रित भएका छौँ । यस विषयमा मन्त्रालयले समन्वय गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस