अर्को व्यवस्था नभएसम्म अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अर्को व्यवस्था नभएसम्म अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक


१२ मंसिर २०७८, आइतबार


काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै विश्वका विभिन्न मुलुकमा भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ ।

आज (आइतबार) गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार आइतबार मन्त्रालयले निर्देशन दिँदै कूटनीतिक, अफिसियल र आपत्कालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको हो ।

गृह मन्त्रालयको निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।

यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता पोखरेलले स्पष्ट पारे ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरु दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र विश्वका अन्य केही देशमा पनि भेटिन थालेसँगै विभिन्न मुलुकहरुले नियन्त्रण तथा रोकथामका लागि कडा निर्णयहरु लिन थालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस