सुन कछुवासहित चार जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुन कछुवासहित चार जना पक्राउ


१२ मंसिर २०७८, आइतबार


पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछापोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बूढानीलकण्ठ बस्ने राजकुमार तामाङ र तनहुँ घर भई हाल रानीबारी बस्ने हरि परियार रहेका परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।

पहेँलो कछुवा अबैधरूपमा बिक्री गरिरहेको भन्ने जानकारीका आधारमा शनिबार साँझ खोजतलासमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूका विषयमा प्रहरी वृत्त कालीमाटीमा प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिए ।

हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरू फेला पारी सम्बन्धित धनीलाई आज बुझाएको छ । महाशाखाले कात्तिकमा पनि २३ वटै मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो ।

महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काँडाघारी, कङ्लकी, भैँसेपाटी, भीमसेनगोला, गङ्गालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मङ्गलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भूलगायत विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारेको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना सङ्कलन तथा सुराकीमार्फत ती मोटरसाइकल बरामद गरेको जानकारी दिए ।

सवारी हराएको थाहा पाउनासाथ हटलाइन नम्बर ‘१०३’ वा अनलाइन सेवा ‘लस्ट भेहिकल एप्लिकेसन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ ।

यस आर्थिक वर्ष २०७८/७९ मा हराएका १७६ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाइकल चोरीमा संलग्न २१ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीका लागि पठाएको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस