अब सधैँका लागि भूमिहीनको समस्या समाधान गर्छौँ: मन्त्री श्रेष्ठ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब सधैँका लागि भूमिहीनको समस्या समाधान गर्छौँ: मन्त्री श्रेष्ठ


१२ मंसिर २०७८, आइतबार


भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले अब सधैँका लागि भूमिहीनको समस्या समाधान गर्ने गरी आफूले काम गरिरहेको बताएकी छन् ।

आज नेकपा माओवादी केन्द्र चाँगुनारायण नगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै उनले तराईका विभिन्न जिल्लामा रहेका भूमि भएको तर हातमा लालपूर्जा नभएका पीडित व्यक्तिहरू, भूमिहीन सुकुम्वासी र उपत्यकामा रहेको लालपूर्जा विहिन स्ववासीको समस्या समाधान गर्ने बताइन ।

अब भूमिहीनको विषयलाई लिएर कसैले पनि राजनीति गर्न नपर्ने र कसैको पनि समस्या बाँकी नरहने गरी समस्या समाधान गर्न आफू कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले आगामी पुससम्ममा भूमिहिन सुकुम्वासी र लालपूर्जा विहिन स्ववासीलाई लालपूर्जा वितरण गर्ने गरी काम अगाडि बढाइएको बताइन् ।

मन्त्री श्रेष्ठले अब छोरीको नाममा पनि अंशियार कायम हुने संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयनमा ल्याउने गरी आफूले काम गरिरहेको बताउँदै अब आमा, श्रीमति र छोरी पनि अंशियारकै रूपमा मालपोतमा व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउने उनले बताइन् । माओवादी केन्द्रका युवा नेता डिपी ढकालले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने गरी जुट्न कार्यकर्तालाई आग्रह गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस