काठमाडौँ । नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्ग आज (शनिबार) बन्दसत्र र मनोनयन दर्ता हुँदैछ।
शुक्रबार नारायणी किनारमा उद्घाटन भएको महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको कार्यतालिका छ।
शुक्रबार राति सौराहामा बसेका एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी, केन्द्रीय कमिटीमा संख्या थप्ने र पोलिटब्युरो पनि बनाउने निर्णय गरेको छ।
सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या बढाइएको हो। केन्द्रीय कमिटीले गरेको उक्त निर्णय केहीबेरमा सुरू हुने बन्द सत्रले पारित गर्नेछ। बन्दसत्रले अनुमोदन गरेपछि यसले विधानको रूप लिनेछ।
बैठकले २ जना उपमहासचिव र २ जना उपाध्यक्ष थपेर पदाधिकारी संख्या १९ पुर्याउने निर्णय गरेको छ ।
यसअघि पदाधिकारी संख्या १५ थियो। यो प्रस्ताव पारित भएसँगै एमालेमा उपमहासचिव संख्या ३ पुगेको छ भने उपाध्यक्ष ७ जना हुनेछन्। बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव पनि पास गरेको छ ।
नयाँ नेतृत्वका लागि सहमति नभए आजै मनोनयन दर्ता हुनेछ। एमाले महाधिवेशन आइतबारसम्म चल्नेछ।







