चीनमा जन्मदर वृद्धि गर्न प्रसूति बिदा बढाइने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चीनमा जन्मदर वृद्धि गर्न प्रसूति बिदा बढाइने


१० मंसिर २०७८, शुक्रबार


बेइजिङ । चीनका धेरै क्षेत्रहरूले कम्तीमा ३० दिनसम्म प्रसूति बिदा विस्तार गर्ने तयारी गरेका छन् । न्यून जन्मदरका कारण देशले जनसाङ्खिक सङ्कटको सामना गर्ने देखिएपछि चीनले बालबालिका पालनलाई प्रोत्साहन गर्ने नवीनतम प्रयास स्वरूप प्रसूति बिदा विस्तार गर्ने भएको छ । सरकारको यो निर्णयलाई सरकारी कार्यालय, संघसंस्था तथा नीजि संस्थाले पनि प्रोत्साहन गर्ने बताएका छन् ।

यसै वर्ष कडा परिवार नियोजन नियमहरूलाई अन्त्य गर्दै दुईभन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गर्ने सरकारको नीतिपछि बालबालिकाको हेरचाहलाई सहज बनाउन प्रसूति बिदा विस्तार गर्ने योजना सार्वजनिक भएको हो ।

तीव्र गतिमा वृद्धि देखिएको वयस्क जनशक्तिका कारण उत्पादन तथा अर्थव्यवस्थामा सुस्तता आएपछि चिनियाँ प्रशासनले युवा जनशक्ति बढाउन विविध प्रयासहरू गरिरहेको अधिकारीहरूले बताएका छन् ।

शुक्रबार बेइजिङ नगर प्रशासनले महिलाहरूले अब यस पहिले लिँदै आएको १२८ दिनको प्रसूति विदामा एक महिना ९३० दिन० विदा थप गरी १५८ दिन विदा पाउने घोषणा गरेको छ ।

शाङ्घाईको प्रशासनले पनि एक दिनअघि (बिहीबार) यसै प्रावधानलाई कानूनी मान्यता दिने घोषणा गरेको छ ।

पूर्वी झेजियाङ प्रान्तमा दोस्रो वा तेस्रो बच्चाका आमाहरूले अब जम्मा १८८ दिन लिन सक्ने बनाइएको सिन्ह्वा न्यूज एजेन्सीको एक समाचारमा उल्लेख गरिएको छ ।

चालु राष्ट्रिय नियमावलीअनुसार आमाले ९८ दिन पारिश्रमिक पाउने प्रसूति बिदा पाउने व्यवस्था छ ।

यस मुद्दाले अनलाइन छलफललाई व्यापकता दिएको छ । केही विश्लेषकहरूले यो परिवर्तनले कम्पनीहरूलाई महिलाहरूलाई रोजगारी दिनेबारे गम्भीर भएर सोच्न बाध्य पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

एक जना इन्टरनेट प्रयोगकर्ताले एएफपीसँग भने, ‘प्रशासनको यो निर्णयले महिलाहरूको बेरोजगारी दर अझ बढाउन सक्ने देखिन्छ ।’अन्य केहीले बेइजिङमा १५ दिनमै पितृत्वको हक किन अपरिवर्तित रह्यो भन्ने पनि प्रश्न गरेका छन् ।

राजधानीमा नयाँ बुबाहरूले आफ्नो साथीको कोटाबाट विदाका दिनहरू लिएर मात्र आफ्नो शिशु स्याहार विदा विस्तार गर्न सक्छन् । त्यस्तै, झेजियाङमा पुरूषलाई शिशु स्याहार विदा १५ दिन र शाङ्घाईमा १० दिन रहेको छ ।

यो परिवर्तनले उद्यमीहरूले पुरुषहरूलाई महिलाहरूभन्दा बढी मन पराउने अवस्था ल्याउनसक्ने टिप्पणी इन्टरनेटको सक्रिय प्रयोग गर्ने एक अर्का व्यक्तिले बताए ।

चीनले सन् २०१६ मा विश्वकै सबैभन्दा कडा पारिवार नियोजन नियमावलीमध्येको एक ‘एक बाल नीति’ लाई अन्त्य गर्दै चिनियाँ दम्पतीलाई दुई सन्तान जन्माउने अनुमति दिएको थियो ।

सरकारले सन्तान जन्माउनसक्ने प्रावधानलाई थप लचिलो पार्दै यो वर्षको सुरुतिर एक दम्पत्तीले तीन बच्चासम्म जन्माउनसक्ने बनाएको थियो । गत वर्ष प्रति एक हजार चिनियाँबाट करिब नौ बच्चा जन्मिएको रेकर्ड गरिएको थियो । यो सन् १९७८ मा वार्षिक तथ्याङ्क सुरु भएदेखिको सबैभन्दा कम हो ।

Tags :
प्रतिक्रिया दिनुहोस