नगरपालिकाभित्रै छैन सडकको पहुँच « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नगरपालिकाभित्रै छैन सडकको पहुँच


१० मंसिर २०७८, शुक्रबार


पाल्पा । जिल्लाको तानसेन नगरपालिकाभित्रका बस्तीमा सडकको पहुँच नहुँदा कृषि उत्पादन बजारसम्म निकासी गर्न समस्या भएको छ । खेतबारीमा उत्पादित तरकारी बजार पुर्‍याउन नै समस्या भएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

तानसेन नगरपालिका–१०, जमुनाखर्ककी सीतादेवी आलेले १० वर्ष अघिदेखि तरकारी खेती गर्थिन् । दलित तथा जनजाति बस्ती रहेको यस क्षेत्रमा व्यावसायिक रुपमा तरकारी खेती हुँदै आएको छ । यसमध्येकी उनी पनि ठुलो मात्रामा व्यावसायिक रुपमा तरकारी खेती गर्छिन् ।

तरकारी खेतीबाट वार्षिक रु तीन चार लाख आम्दानीसमेत हुन्छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको जहरेपिपलदेखि जमुना खर्चसम्म सडक नहुँदा यहाँ उत्पादित तरकारी लगायतका बस्तु निकासीमा समस्या नहटेको आलेको गुनासो छ । जहरेपिपलदेखि जमुनाखर्कसम्म झण्डै एक किलोमिटर पैदल हिँड्नसमेत सडक नभएको हो ।

खेतबारीमा तरकारी उत्पादन गर्न निकै मेहनत गर्नुपर्छ, उत्पादित तरकारी मानिसलाई बोकाएर लैजानुपर्ने गर्दा खर्च बढी हुन्छ, बजारमा समेत बिचौलियाले राम्रो मूल्य नपाइने समस्या रहेको आलेको गुनासो छ ।

गाँउबस्तीमा सडक आउँछ आउँछ भने पनि स्थानीयवासीले गाडी र फराकिला सडक देख्न सिद्धार्थ राजमार्ग अन्तर्गतको जहरेपिपलमा पुग्नुपर्ने बाध्यता हटेको छैन ।

स्थानीय सरकारको नेतृत्व जनप्रतिनिधिले पाएपछि उत्साहित बनेका नागरिक बस्ती सडक नहुँदा अझै पनि पहुँचवालाले मात्रा योजना प्राप्ति गरेको गुनासो छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारा पनि घन्कियो ।

तर, सडक नहुँदा लास घाटमा, बिरामी र सुत्केरी महिलालाई अस्पताल पुर्‍याउन समस्या छ । सडक नहुँदा ढुङ्गामा टेकेर खेतका डिल तथा खोलाका किनारामा ज्यान जोखिमा राखी यात्रा गर्नुपर्छ ।

हामीलाई सडक चाहिन्छ भनेर पटक पटक भने पनि सडक नभएपछि खोलाको किनारा, खेतका डिलमा टेकेर बिरामी बोक्नुपर्ने समस्या रहेको स्थानीयवासी भीमबहादुर नेपालीले बताए । दलित, गरिब र पहुँचविहीनको कुरा स्थानीय सरकारले सुनिरहेकै छन् ।

सडक विस्तार गरी गाउँमा ल्याउन खोजिएको पहिरो सडकको काम पूरा हुन नसक्दा समस्या भएको हो । स्थानीय सरकारको यस वर्ष सडकको विस्तार गर्न बजेट विनियोजन गरिएको तानसेन नगरपालिका–१० का वडाध्यक्ष त्रिलोचन पौडेलले बताए ।

यस वर्ष नै बस्तीमा सडक सञ्जालले जोडेर गाउँलाई आवतजावतमा सहजता ल्याउने योजना रहेको वडाध्यक्ष पौडेलको भनाइ छ । यसपालिका काम पूरा नभए अर्को वर्ष पूरा गर्ने हुन्छ, वडाध्यक्ष पौडेलले बताए।

वञ्चितीकरणमा परेका समुदायका बस्तीमा अझै विकास पूर्वाधार निर्माण हुन सकेको छैन । पहुँचवाला व्यक्तिका घरघरमा स्थानीय सरकारले सडक विस्तार गरेको छ तर, पहुँचविहीन नागरिकको टोल बस्तीमै सडक, खानेपानी, स्वास्थ्य, शिक्षाको भरपर्दो सुविधा नहुँदा नागरिकले समस्या भोगिरहेका छन् ।

दलित अधिकारका लागि साझा अभियान पाल्पाका अध्यक्ष विष्णु बोमरेलका अनुसार दलित तथा विपन्न समुदायको लक्षित गरी कार्यक्रम सञ्चालन आर्थिक, सामाजिक तथा शैक्षिक अवस्थामा सुधार हुन सकेको छैन ।

दलित अधिकारकर्मीका अनुसार जिल्लाका अधिकांश दलित बस्तीमा सडक, खानेपानीमा अझै पनि पहुँच छैन । व्यावासयिकरुपमा कृषि उत्पादन गरी आत्मनिर्भर बनाउन आयआर्जनका कार्यक्रम सञ्चालन हुन नसक्दा बेरोजगारीको समस्यामा कमी नदेखिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस