दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी नेता देवकोटाको परिवारलाई नौ लाख क्षतिपूर्ति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी नेता देवकोटाको परिवारलाई नौ लाख क्षतिपूर्ति


९ मंसिर २०७८, बिहिबार


गोरखा । बसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई नौ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।

यातायात व्यवसायी, पीडित पक्ष र पीडकपक्षबीच भएको त्रिपक्षीय वार्ताले मृतकका परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम प्रदान गर्ने सहमतिपछि आफन्तजनले शव बुझेका हुन् ।

मृतकका आफन्तजनले उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने चेतावनीसहित करिब आधा घण्टा पृथ्वी राजमार्ग अवरुद्ध गरेपछि त्रिपक्षीय वार्ता बसेको थियो ।

मृतकका परिवारलाई दुर्घटना बिमाबापत पाँच लाख र चालकको लापरबाहीका कारण युवा नेताको मृत्यु हुन पुगेकाले चालकका तर्फबाट चार लाख गरी कूल नौ लाख क्षतिपूर्ति दिने सहमति भएको हो ।

मङ्गलवार डुम्रे बेँसीशहर सडक खण्डमा पर्ने तनहुँको भानु नगरपालिका–१ भन्सारमा बसको ठक्करबाट स्कुटर चालक विद्यार्थी नेता २४ वर्षीय सुवर्ण देवकोटाको घटनास्थलमै मृत्यु भएको थियो । बाइस जाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसका चालकको लापरबाहीका कारण सोही दिशामा गुडिरहेको बा४५प २३८ नम्बरको स्कुटर चालक विद्यार्थी नेताको मृत्यु भएको हो ।

बसका चालकको चरम लापरबाहीका कारण विद्यार्थी नेता देवकोटाको मृत्यु भएको भन्दै मृतकका आफन्तजनले शब बुझेका थिएनन् । सहमतिपश्चात् बुधबार साँझ आफन्तजनले शव बुझेर दाहसंस्कारका लागि पालुङटार नै लगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस