सूर्य चिन्हमा ग्रहण लागिसकेको छ, सूर्यको धाक नदेखाए हुन्छ :अध्यक्ष नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सूर्य चिन्हमा ग्रहण लागिसकेको छ, सूर्यको धाक नदेखाए हुन्छ :अध्यक्ष नेपाल


८ मंसिर २०७८, बुधबार


जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै धाक लगाएर हिँडिरहनु आवश्यक नरहेको बताए ।

आज (बुधबार) जनकपुरमा सञ्चारकर्मीहरुसँगै कुरा गर्दै नेता नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महसुस गरिरहेको दाबी पनि गरे ।

अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको उल्लेख गर्दै मङ्सिर १५ गतदेखि कलम चिन्हको स्टिकर लिएर आर्थिक सङ्कलन गर्दै जनताको घरघरमा पुग्ने अभियान सञ्चालन गर्ने घोषणा समेत गरे ।

उनले भने, ‘समाजवादको दिशामा अघि बढ्नका लागि समानताको, न्यायको, विकासको र समृद्धिको यी चार वटा विषयलाई केन्द्र विन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य यो पार्टीको छ । मैले भन्ने गरेको छु–अब सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागि सकेको छ । अव कलम चम्किरहेको छ ।’

उनले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रबिन्दुमा राखेर अघि बढिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस