एमालेले जनता र देशलाई भुलेर गलत बाटोमा हिँडेपछि त्याग्नुपरेको हो: अध्यक्ष नेपाल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एमालेले जनता र देशलाई भुलेर गलत बाटोमा हिँडेपछि त्याग्नुपरेको हो: अध्यक्ष नेपाल


८ मंसिर २०७८, बुधबार


धनुषा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताएका छन् ।

धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भने, ‘नेकपा एमाले विदेशीको दलालीमा लाग्यो । त्यसैले पुरानो घर त्याग्नुपरेको हो ।’ अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै भने, ‘न्याय र सत्यको जित अवश्य हुनेछ ।’ नेपालले आफू ५२ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा लागेको उल्लेख गर्दै भने, ‘ठुला ठुला काम गरेका छौँ । राजाको शासन उखेलेर फाल्यौँ ।’

उनले हिन्दी शैलीमा भने, ‘जो हमसे टकराएगा चुर चुर हो जाएगा ।’ उनले आफूहरू प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताए । अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादीले जहिल्यै जनताको सुख दुःखमा साथ दिने प्रतिबद्धता जनाए । कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सिर्जना गरी सबैको जीवन राम्रो बनाउन आफूहरू लागि परेको उनको भनाइ थियो । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिह्न कलम लिएर जनतामाझ आएको उनको भनाइ थियो ।

उनले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिँचाइ र मलखादको व्यवस्था गर्ने पनि बताए । नेपालले विरोधीले कान लिएर काग भाग्यो भनेपछि कागको पछाडि दौडिन नहुन कार्यकर्तालाई सुझाव दिँदै हिम्मत र बुलन्दीको साथ अगाडि बढेपछि जित हुने बताए । अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियुक्तिको काममा ढिलाइ गरिरहेको बताए । उनले विभिन्न पार्टीको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गरे ।

अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामलाई सरकारले छिटोभन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पुर्‍याउन आवश्यक रहेको धारणा व्यक्त गरे । अर्को प्रसङ्गमा नेपालले राष्ट्रियसभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताए । उनले उपनिर्वाचनमा पनि पाँच दलीय गठबन्धन मिलेरै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष नेपालले मुलुकमा सङ्घीयता, लोकतन्त्र तथा समावेशीताको रक्षा गर्दै जनताको अधिकार स्थापित गराउनका लागि वर्तमान गठबन्धनको सरकार बनेको जिकिर गरे । गठबन्धन आउँदो चुनावसम्मै कायम रहने पनि नेपालले बताए ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व मन्त्री रामचन्द्र झा आज औपचारिक रूपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरे । समाजवादीले झालाई यसअघि नै पार्टी सचिवालय सदस्यमा मनोनीत गरिसकेको थियो । पार्टीले कात्तिक २८ गते नै झालाई समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरिसकेको थियो ।

झासहित दुई हजारभन्दा बढी कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी गरिएको छ । झालाई समाजवादीका अध्यक्ष नेपालले फूल माला लगाएर पार्टीमा स्वागत गरे ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रबाट वरिष्ठ दन्त चिकित्सक डा अजय कुमार झाको नेतृत्वमा नेपाली काँग्रेस परित्याग गरेर करिब ५०० समाजवादीमा प्रवेश गरेको पनि पार्टीले दाबी गरेको छ । डा झा नेविसङ्घ धनुषाका जिल्ला अध्यक्षसमेत भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस