गन्तव्यमा नपुर्‍याई बीचैमा जहाज अवतरण गर्ने एयरलाइन्सका पाइलटलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गन्तव्यमा नपुर्‍याई बीचैमा जहाज अवतरण गर्ने एयरलाइन्सका पाइलटलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । नेपाल एयरलाइन्सका पाइलटले यात्रुले टिकट काटेको ठाउँमा नपुर्‍याएर बीचैमा अवतरण गरेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रुकुम जानका लागि उडेको प्लेन नेपालगन्जमा अवतरण के कारणले गरेको हो भनेर स्पष्टीकरण सोधेको बताएका छन् ।

‘मैले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मार्फत पाइलट पेम्बा शेर्पालाई स्पष्टीकरण सोधेको छु । निगम मार्फत के कारणले बीचमा नै प्लेन अवतरण गरेको हो भन्ने कुरा आउने छ’, मन्त्री आलेले भने, ‘मैले नेपाल वायुसेवा निगमलाई माथि उठाउन धेरै काम गरेको छु । तर मलाई नै असहयोग भइरहेको छ । म असहयोग भयो भनेर चुप बस्ने मान्छे हैन । मलाई नेपाल वायुसेवा निगम सुधार गर्नका लागि नै यो मन्त्रालयमा पठाएको हो ।’

सरकारी कर्मचारीहरुले नै मन्त्रीले राम्रो काम गर्न लागेको देख्दा पनि सहयोग नगरेको गुनासो गरे । नेपाल वायुसेवा निगम पुरै सेटिङमा सञ्चालन भएको र अब त्यो सेटिङ जसरी भए पनि भत्काउने मन्त्री आलेले बताए ।

नेपाल वायुसेवा निगममा के भएको थियो ?

नेपाल वायुसेवा निगमका पाइलटले आफ्नो ड्युटी सकिएको भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी अवतरण गरेका थिए ।

रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमानका पाइलटले ड्युटी सकिएको बहानामा नेपालगन्जमा अवतरण गराएर ८ जना यात्रुलाई अलपत्र बनाएका थिए ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थल जाँदै थियो ।

यात्रुहरु चाडै रुकुम आइपुगेको सोचेर खुसी भए । तर जहाजबाट बाहिर आउँदा नेपालगन्ज आइपुगेको थाहा पाए । विमानस्थलमा अवतरणबारे कुनै अग्रिम जानकारी समेत गराइएको थिएन ।

जहाजका पाइलट पेम्बा शेर्पा थिए । त्यो दिन शेर्पाको ड्युटी बिहान ५ः३० बजे सुरु भएर अपराह्न ४ बजेसम्म थियो । उनले ४ बजेपछि यात्रुलाई रुकुम पुर्‍याउन पर्नेमा नेपालगन्जमा नै अवतरण गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस