व्यापारीलाई अनावश्यक दुःख नदिन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

व्यापारीलाई अनावश्यक दुःख नदिन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन


२३ कार्तिक २०७८, मंगलबार


धनुषा । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

जनकपुर उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले कारोनाका कारण अर्थतन्त्र शिथिल भएकाले उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । माल सामान ल्याउने क्रममा व्यापारीलाई अनावश्यक दुःख नदिन उनले सुरक्षा निकायलाई निर्देश गरे ।

उद्योग क्षेत्रमा राष्ट्रव्यापीरूपमा समस्या देखापरेका र ती समस्या समाधान गर्न वर्तमान सरकार तत्पर रहेको मन्त्री खाँणले बताए । जनकपुरधाम उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले प्रहरी प्रशासनले झुठा मुद्दा लगाएर सामान नियन्त्रणमा लिई अनावश्यक दुःख दिने गरेको मन्त्री खाँण समक्ष गुनासो गरेका थिए । मन्त्री खाँणले सो अवसरमा त्यसो हुन नदिन प्रदेश २ का प्रहरी प्रमुख र जिल्लास्थित प्रहरी निकायलाई निर्देशन दिएका थिए।

यस्तै आजै मैथिली विकास कोषले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री खाँणले मैथिली भाषाको विकासका लागि वर्तमान सरकारले ठोस कदम चाल्ने बताए । उनले मैथिली विकास आयोग गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक कदम चाल्ने आश्वासन दिए ।

‘सबै वर्गको राष्ट्रिय राजनीतिको मूलधारमा पहुँच र अधिकार सुनिश्चितताका लागि आदिवासी÷जनजाति, महिला, दलितलगायत आयोग गठन र भाषिक विविधतालाई सम्बोधन गर्ने सरकारले निर्णय गरेको छ’, उनले भने । मैथिली भाषा राष्ट्रकै गहना भएको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस