कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान


१६ कार्तिक २०७८, मंगलबार


कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७ : ३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुख समक्ष सोमबार साँझ ७ : ३० बजे राजीनामा दिएका थिए ।

प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समय सीमा दिएका हुन् ।

विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा नेपाली काँग्रेससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको उनीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ । प्रदेशदेखि केन्द्रीय सरकारमा प्रतिपक्षमा रहेको काँग्रेस सोही सहमतिअनुसार पहिलो पटक कर्णालीमा दुई मन्त्रीसहित सत्तामा पुगेको थियो ।

माओवादी केन्द्र, काँग्रेस र नेकपा (एकीकृत समाजवादी) बिच भएको सहमतिअनुसार काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने बताइएको छ । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांगे्रसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस