विद्युतीय सवारीको प्रवर्द्धनमा ऊर्जा मन्त्रीको जोड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विद्युतीय सवारीको प्रवर्द्धनमा ऊर्जा मन्त्रीको जोड


१३ कार्तिक २०७८, शनिबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातित इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताएकी छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विद्युतीय सवारी र्‍यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झन्डै दुई अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा ४० अर्ब खर्च भइरहेको उल्लेख गरिन् । बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उपयोग बढाउनुको विकल्प नरहेको उनको भनाइ थियो । 

उनले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युत्को खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने धारणा राखिन् । 

मन्त्री भुसालले विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्दछ भनिन् । 

कार्यक्रममा मन्त्रालयका सचिव सागर राईले विद्युतीय सवारी वातावरणमैत्री, यात्रुका लागि सहज र विद्युत्को खपत बढाउने क्षेत्र भएकाले यसको प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र सर्वसाधारणले विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने खाँचो औँल्याइन् । 

केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले वातावरण संरक्षण र स्वच्छ ऊर्जाको प्रवर्द्धनमा जोड दिँदै आएको केन्द्रले विद्युतीय सवारीको बारेमा सर्वसाधारणलाई जानकारी र नीतिनिर्माताहरुलाई पनि प्रविधिको बारेमा अवगत गराउन र्‍यालीको आयोजना गरेको जानकारी दिइन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झन्डै चार÷पाँच सय मेगावाट विद्युत् खेर गइरहेको र आगामी दिनमा यो परिणाम अझ बढ्ने निश्चित रहेकाले विद्युत्को खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण भइरहेको उल्लेख गरे ।

ललितपुरको जावलाखेलबाट सुरु भएको र्याली काठमाडौँका विभिन्न स्थान हुँदै भृकुटीमण्डपमा आएर विसर्जन भएको थियो । र्यालीमा विद्युतीय साइकल, स्कुटर, मोटरसाइकल, ट्याम्पो र कार गरी झन्डै ३०० को सङ्ख्यामा सहभागिता थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस