अफगानिस्तानलाई चीनले ६० लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अफगानिस्तानलाई चीनले ६० लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । कतारको दोहामा चीनसँग उच्चस्तरीय वार्ता भएको एक दिनपछि हिजो (मंगलबार) बेइजिङले अफगानिस्तानलाई ६० लाख अमेरिकी डलर बराबरको थप मानवीय सहायता दिने वचन दिएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ ।​

तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चीनको सहायता औषधि र खाद्यान्नको लागि प्रयोग गरिने बताएको टोलो समाचार संस्थाले उल्लेख गरेको छ ।​

तालिबानका उपप्रधानमन्त्री मुल्लाह बारादर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दोहामा भएको दोस्रो सार्वजनिक भेटवार्तापछि यस्तो घोषणा गरिएको हो ।

दुवै पक्षले अफगानिस्तानको राजनैतिक र आर्थिक स्थितिबारे छलफल गरेको कुरा मुजाहिदले पत्रकार सम्मेलनमा बताएको खामा प्रेस न्युज एजेन्सीले लेखेको छ । वाङ यीसँग सोमबार भएको भेटमा मुल्ला बारादरले अफगान तालिबानले चीनको सुरक्षा चिन्तालाई ठुलो महत्त्व दिएको बताएको थियो ।​

वाङले तालिबानले खुलापन र सहिष्णुताको थप प्रदर्शन गर्ने, देशका सबै जातीय समूहहरूलाई एकजुट भएर शान्तिपूर्ण पुनर्निर्माणका लागि सँगै काम गर्ने विश्वास व्यक्त गरेको चिनियाँ सञ्चारसंस्था ग्लोबल टाइम्सले आफ्नो समाचारमा लेखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस