अब म पार्टीको नेतृत्व गर्छु : नेता सिंह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अब म पार्टीको नेतृत्व गर्छु : नेता सिंह


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहोर्‍याएका छन् ।

उनले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औँल्याउँदै आफू सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

आज (बिहीबार) धादिङमा पार्टीको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा पूर्व महामन्त्री सिंहले काँग्रेसमा आफ्नो परिवारले त्याग मात्रै गरेको उल्लेख गर्दै १४ औँ महाधिवेशनमा सभापतिमा दाबी गरेका हुन् ।

‘गणेशमानको परिवारले सधैँ त्याग मात्रै गरेको छ । अब म पार्टीको नेतृत्व गर्छु,’ उनले भने, ‘म गणेशमानको छोरा भएर मात्रै राजनीतिमा आएको होइन । मेरो आफ्नै छुट्टै सङ्घर्ष छ । यहाँसम्म आइपुग्दा धेरै अवरोधहरुको सामना गरेको छु ।’ उनले आफू अन्य क्षेत्रमा असफल भएर राजनीतिमा नआएको पनि उल्लेख गरे ।

नेता सिंहले अहिलेको पार्टी नेतृत्वका कारण काँग्रेस कमजोर भएको आरोप लगाए । पार्टीलाई विधिसम्मत र संस्थागत रुपमा नेतृत्वले अगाडि नबढाएको उनको आरोप छ । पटक पटक कार्यतालिका संशोधन गर्दा पनि महाधिवेशन गर्न नसकेको भन्दै उनले पार्टी नेतृत्वको आलोचना गरे ।

‘महाधिवेशन पनि गर्न नसक्ने पार्टीले कसरी देश चलाउँछ भनेर जनताले प्रश्न गर्न थालिसके,’ उनले भने, अब तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ । कुनै बहाना बाजी गर्न पाइँदैन ।’

काँग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर ९-१३ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका छ तर कतिपय जिल्लामा वडा अधिवेशन नै सुरु हुन नसक्दा काँग्रेस महाधिवेशन निर्धारित मितिमा हुनेमा आशङ्का हुन थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस