कैलाली, कञ्चनपुर र सुनसरीमा ३० प्रतिशत धानबालीमा क्षति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कैलाली, कञ्चनपुर र सुनसरीमा ३० प्रतिशत धानबालीमा क्षति


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । तीन दिनदेखिको बेमौसमी वर्षाका कारण अन्न भण्डारका रूपमा रहेका सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर तथा प्रदेश १ को सुनसरीमा धानबालीमा अत्यधिक क्षति पुगेको छ ।

तीन वटै जिल्लामा ३० प्रतिशतसम्म धानबालीमा नोक्सानी भएको सम्बन्धित कृषि ज्ञान केन्द्रहरूले जनाएका छन् ।

‘कैलाली र कञ्चनपुरमा वर्षाअघि ४० प्रतिशत धानबाली भित्र्याउन बाँकी थियो,’ सुदूरपश्चिम कृषि निर्देशनालय प्रमुख यज्ञराज जोशीले भने, ‘प्रारम्भिक तथ्यांकअनुसार वर्षाले ढालेर, बगाएर र डुबानबाट बचेको १० प्रतिशत जति होला, यसमा २-४ प्रतिशत तलमाथि हुन सक्छ ।’ स्थानीय तहका कृषि शाखालाई क्षतिको यकिन विवरण सङ्कलन गर्न निर्देशन दिइसकेको उनले बताए ।

३० प्रतिशत धानबालीको क्षतिलाई मात्रै आधार मान्दा पनि कैलालीका करिब एक लाख किसानले दुई अर्ब रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको जिल्ला कृषि ज्ञान केन्द्र प्रमुख खगेन्द्र शर्मा गर्छन् । उनका अनुसार जिल्लामा यो वर्ष ७० हजार हेक्टर जमिनमा धान लगाइएको थियो । जसमध्ये २१ हजार हेक्टरमा लगाएको धानबाली वर्षाले नोक्सान पुगेको छ ।

कैलाली र कञ्चनपुरमा एक हेक्टर खेतमा सरदर ४५ क्विन्टलसम्म धान फल्छ । ‘जसअनुसार ९ लाख ४५ हजार क्विन्टल नोक्सान भएको मान्दा प्रतिक्विन्टल २ हजार रुपैयाँका दरले मात्रै हिसाब गर्दा किसानले १ अर्ब ८९ करोड रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको देखिन्छ,’ उनले भने, ‘कञ्चनपुरमा पनि करिब १ अर्ब रुपैयाँ हाराहारीमा धानबाली नोक्सान भएको अनुमान गर्न सकिन्छ ।’

मर्कामा परेका किसानलाई राहतको आवश्यकता भएको उनले औँल्याए । कृषिको बालीनाली प्राकृतिक प्रकोप क्षतिपूर्ति तथा राहत मापदण्ड २०७५ अनुसार कैलालीमा मात्रै क्षतिपूर्ति दिन १७ करोड रुपैयाँभन्दा बढी रकम आवश्यक पर्छ ।

‘प्रदेश सरकार एक्लैले यति ठुलो रकम एउटै जिल्लाका लागि दिन सक्दैन होला,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहले मिलेर जानुपर्ने देखिन्छ ।’ उक्त मापदण्डमा किसानलाई प्रतिकट्ठा २ सय ६७ रुपैयाँ क्षतिपूर्ति दिइने उल्लेख छ ।

प्रदेशको कृषि मन्त्रालयका सचिव डा. मदनसिंह धामीले किसानलाई नगदमा राहतभन्दा कृषिका विभिन्न खाले कार्यक्रममा सहयोग र सहुलियत दिन सकिने बताए । पीडित किसानलाई भविष्यमा गहुँ बाली, चैते धानलगायत लगाउँदा बीउ र मलमा सहुलियत तथा छुट दिन सकिने उनको भनाइ छ ।

लगातारको वर्षाले सुनसरीमा पनि धानबालीमा उल्लेख्य क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रको आकलन छ । भोक्राहा नरसिंह, हरिनगरा, देवानगन्ज गाउँपालिका, इनरुवाका दक्षिणी भूभाग बबिया र जल्पापुर क्षेत्रमा वर्षाले बढी नोक्सान गरेको केन्द्रले जनाएको छ । जिल्ला यस वर्ष ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १६ हजार हेक्टरको धान नष्ट भएको केन्द्र प्रमुख नुनुलाल उराव बताउँछन् ।

‘सुनसरीको दक्षिणी क्षेत्र जलमग्न छ । पानी परिरहेकाले पनि विवरण सङ्कलन गर्न कठिन भइरहेको छ,’ उनले भने, ‘पूर्ण विवरण आउन अझै केही दिन लाग्छ ।’ हरिनगरा, देवानगन्ज र इनरुवामा लगाइएको अधिकांश तरकारी खेतीसमेत नष्ट भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस