सैनिक नियमावली संशोधनसँगै सिपाहीबाट अधिकृतमा बढुवा हुने ढोका खुल्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सैनिक नियमावली संशोधनसँगै सिपाहीबाट अधिकृतमा बढुवा हुने ढोका खुल्यो


३ कार्तिक २०७८, बुधबार


नेपाली सेना

काठमाडौँ । सैनिक नियमावली संशोधन गरेसँगै राजपत्र अनङ्कित पदमा भर्ना भएका सैनिकलाई अधिकृत तहसम्म पुग्न सक्ने बाटो खुलेको छ ।

गत १४ भदौमा राजपत्रमा प्रकाशित सैनिक सेवा नियमावलीको चौथो संशोधन कार्यान्वयन सुरु गरिएसँगै सिपाहीबाट भर्ना भएकालाई बढुवाबाटै अधिकृतसम्म पुग्ने बाटो खुलेको हो । तल्लो तहका कर्मचारीको मनोबल बढाउन पनि सो व्यवस्था गरिएको सेनाले जनाएको छ ।

अधिकृत स्तरको सबैभन्दा आधारभूत पद सहायक सेनानीमा पदपूर्तिको व्यवस्था संशोधन गरिएको छ । यसअघि सहायक सेनानीमा रिक्त पदमध्ये ७० प्रतिशत खुला प्रतियोगितामार्फत र बाँकी ३० प्रतिशत पदमा आन्तरिक प्रतियोगितामार्फत पदपूर्ति हुने गरेकोमा अब १० प्रतिशत बढुवा तथा आन्तरिक प्रतियोगितामार्फत २० प्रतिशत र बाँकी ७० प्रतिशत खुला प्रतियोगिताबाटै पदपूर्ति हुने छ । यसरी गर्दा बढुवा र आन्तरिक प्रतियोगिताबाट पदपूर्ति हुन नसकेमा भने रिक्त पदलाई खुला प्रतियोगितामा जोडेर भर्ना हुने भएको छ ।

सहायक सेनानीमा कम्तीमा २२ वर्ष सेवा अवधि पुगेका प्रमुख सुबेदार र सुबेदार बढुवाका उम्मेदवार हुने संशोधित नियमावलीमा उल्लेख छ ।

यसअघि सिपाहीमा भर्ना भएकाहरू बढुवा भएर प्रमुख सुवेशदारसम्म मात्र पुग्थे भने केहीलाई मानार्थ रूपमा सहायक सेनानीलगायत पद दिने गरिएको थियो । नयाँ व्यवस्थासँगै बढुवाबाटै अधिकृत हुने ढोका खुलेको छ । सहायक सेनानीमा बढुवा हुन अन्तिम तीन वर्षको कार्यसम्पादन मूल्याङ्कन नम्बर न्यूनतम ६५ प्रतिशत ल्याएको हुनुपर्ने प्रावधान नियमावलीमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस