सुदूरपश्चिम बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिम बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो


३ कार्तिक २०७८, बुधबार


काठमाडौँ । सुदूरपश्चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि अहिलेसम्म डोटीमा १२, बैतडीमा ४ र डडेल्धुरामा २ जनाको मृत्यु भएको हो।

डोटीमा पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका–५ उपल्लागाउँकी चन्द्रा नेपाली, सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विक र सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जोरायल गाउँपालिका–४ सयगडामा शेरबहादुर विकको घर भत्किँदा उनीसहित उनकै १८ वर्षका छोरा मोहन विक, १२ वर्षीया छोरी पवित्रा विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सोही घरमा मामाघर आएका १६ वर्षीय रविन विकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, जोरायल गाउँपालिका–४ मा पनि पहिरोले घर पुरिँदा ६२ वर्षका जोगी सार्कीको मृत्यु भएको छ। उनकी घाइते अवस्थामा रहेकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मंगलबार राति नै मृत्यु भएको हो।

यस्तै, पहिरोसँगै आएको ढुङ्गा लागेर शिखर नगरपालिका ११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, सोमबार रातिको पहिरोले घर पुरिँदा सायल गाउँपालिका-६ का वीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको थियो।

बैतडीमा ७१ वर्षीया परुदेवी महरा, २५ वर्षीया भानु पार्की, २१ वर्षीया पवित्रा पार्की, ३ वर्षीय देवन पार्कीको पहिरोमा परी मृत्यु भएको हो।

डडेल्धुरामा ३२ वर्षीय विष्णु अवस्थी र ६५ वर्षीय नरपता शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस