सेवा प्रवाहलाई चुस्त बनाउन कर्मचारीलाई श्रममन्त्रीको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सेवा प्रवाहलाई चुस्त बनाउन कर्मचारीलाई श्रममन्त्रीको निर्देशन


१ कार्तिक २०७८, सोमबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिएका छन् । बबरमहलस्थित सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डको आज निरीक्षणपछि मन्त्री श्रेष्ठले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका हुन् ।

सरकारी सेवा जनताले छिटोभन्दा छिटो पाउनुपर्ने भन्दै मन्त्री श्रेष्ठले ढिलासुस्ती नगर्न निर्देशन दिए । ‘हामी जनताका सेवक हौँ, काममा ढिलाइ नहोस्,’ उनले भने, ‘केही समस्या परे सहजीकरण गर्न म तयार छु ।’

सोही क्रममा मन्त्री श्रेष्ठले दुवै कार्यालयबाट प्रवाह भइरहेका सेवाका बारेमा जानकारी लिएका थिए । मन्त्री श्रेष्ठले आइतबार मन्त्रालयमा कार्यरत श्रमिकहरूका गुनासो सुन्दै काम सुरुआत गरेका थिए ।

यसैगरी मन्त्री श्रेष्ठले विदेशमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न आग्रह गरेका छन् । यूएई र साउदी अरबका राजदूतसँग भेटघाट गर्दै मन्त्री श्रेष्ठले यूएई र साउदी अरबमा अलपत्र परेका, मृत्यु भएका र जेलमा रहेका नेपाली श्रमिकको उद्धारमा आवश्यक सहयोग गर्न आग्रह गरेका हुन्।

विभिन्न कारणले विदेशमा अलपत्र परेका र जेलमा रहेका नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई छिटोभन्दा छिटो नेपाल फर्काउन श्रममन्त्री श्रेष्ठले सम्बन्धित राजदूतलाई आग्रह गरेको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठसँग यूएईका राजदूत साइद हमदार मोहम्मद अल नक्की र साउदी अरबका राजदूत मुसेद वनि सुलेमानले महाराजगञ्जस्थित मन्त्री श्रेष्ठको निवासमा भेटघाट गरेका थिए । सो अवसरमा राजदूतहरुले श्रममन्त्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै दुई देशबीचको हितका लागि आपसी समझदारीमा काम गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस