देशभर वर्षाको सम्भावना, काठमाडौँमा दिउँसो पनि पानी पर्ने « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

देशभर वर्षाको सम्भावना, काठमाडौँमा दिउँसो पनि पानी पर्ने


३१ आश्विन २०७८, आइतबार


काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौँमा हिजो मध्यरात देखि भएको वर्षा अहिले बिहानसम्म पनि छिटफुटरुपमा परिरहेको छ । विभागका अनुसार आज दिउँसो पनि पानी पर्ने सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

सोमबार भने सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मङ्गलवार पश्चिम नेपालसहित पूर्वी नेपालमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ । मनसुन बाहिरिए पनि न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस