चाडपर्वमा कोभिड सङ्क्रमणको जोखिमबाट बच्न यस्तो छ विज्ञको सुझाव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चाडपर्वमा कोभिड सङ्क्रमणको जोखिमबाट बच्न यस्तो छ विज्ञको सुझाव


२९ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड-१९ सङ्क्रमण पछिल्लो समय घट्दो छ । सङ्क्रमण दर कुल परीक्षण दरको ५ प्रतिशत भन्दा कम देखिएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । तर, सङ्क्रमण घटे पनि जोखिम भने कायमै रहेको मन्त्रालयले जनाएको छ । दसैँमा हुने भिडभाडले सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गरेर दसैँ मनाउन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार कोभिड १९ को सङ्क्रमण घटे पनि जोखिम समाप्त भइसकेको छैन ।

चाडबाडको समयमा किनमेल गर्नेको भिड र दसैँ मनाउन घर जानेहरूको लर्कोले कोभिडको तेस्रो लहर फैलन सक्ने जोखिम बढेको छ । मन्त्रालयका प्रवक्ता पौडेलले सङ्क्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरे ।

‘सङ्क्रमण घटे पनि जोखिम घटेको छैन, जति बेला पनि सङ्क्रमण हुन सक्छ’, उनले भने, ‘नयाँ भेरिअन्ट आउने जोखिम कायमै छ, दसैँ मनाउन सहरबाट मानिसहरू गाउँ गएका छन् । भारतबाट पनि नेपालीहरू आएका छन् । कुनै एक जनामा नयाँ भेरिअन्ट रहेछ भने सङ्क्रमण फेरि बढ्न सक्छ ।’ स्वास्थ्य मापदण्ड पालनमा हेलचेक्र्याइँ गर्नु नहुने भन्दै उनले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे ।

डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ–
अहिले कोभिड १९ सङ्क्रमण शिथिल अवस्थामा छ । तर, जोखिम कायमै छ । भाइरसको कुन भेरिअन्ट कति बेला कडा खालको आउँछ भनेर भन्न सकिँदैन । यसको अनुमान लगाउन पनि गाह्रो छ । कोरोना भाइरसको विगतको अवस्था हेर्ने हो र अड्कल काट्ने हो भने यसले बेलाबेलामा स्वरूप परिवर्तन गरेको पाइएको छ । जति बेला पनि दुःख दिन सक्छ भन्न सकिन्छ ।

यस कारण पनि तेस्रो लहर आउन सक्छ भनिएको हो । भेरिअन्ट परिवर्तन भयो भने सङ्क्रमण हुनसक्ने अवस्था रहन्छ । तेस्रो लहर पनि आउन सक्छ । खोप नलगाएकाहरू सङ्क्रमणको जोखिममा हुनहुन्छ । बालबालिकाका लागि खोप आएको छैन । तर खोप लगाउन मिल्ने उमेर समूहले ढिलो नगरी खोप लगाउनु पर्छ । चाडपर्व मनाउँदै गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न जरुरी छ ।

डा अजित रायमाझी, बाल रोग विशेषज्ञ–
एक आपसमा भेटघाट गरेर खुसी साटासाट गरेर मनाउने पर्व दसैँ बालबालिका लागि विशेष हुने गर्दछ । तर, कोभिडको जोखिमका कारण बालबालिकाले खुलेर यो पर्व मनाउन सकिरहेका छैनन् । घुलमिल र भेटघाटले कोरोना सर्न मद्दत पुग्ने भएका कारण पनि बालबालिकाले खुलेर पर्व मनाउन नपाएका हुन् । खोप नलगाएको समूह पनि बालबालिका नै रहेकाले दंसैको भिडभाड र जमघटले उनीहरू बढी जोखिममा छन् ।

बाल रोग विशेषज्ञ डा. अजित रायमाझीले यो वर्ष पनि परिवार भित्रै मात्र दसैँ मनाउन आग्रह गरेका छन् । बाहिर घुमफिर गर्ने विषयलाई निरुत्साहित गरेमा बालबालिका कोभिड १९ को सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने उनको भनाइ छ ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ–
दसैँ मनाउँदै गर्दा व्यक्तिगत सावधानीलाई विशेष ध्यान दिनुपर्छ । मास्कको प्रयोग सही तरिकाले गर्‍यौँ भने जोखिम कम गर्न सकिन्छ । भौतिक दूरी कायम राख्यो भने पनि सङ्क्रमणबाट जोगिन सकिन्छ । भौतिक दूरी कायम राख्न र मास्क प्रयोगमा विशेष ध्यान जान जरुरी छ ।

परिवार बाहेक अन्य मानिससँग कम भन्दा कम भेटघाट र घुलमिल गर्ने गर्नुपर्छ यसरी पर्व मनायो भने सङ्क्रमणको जोखिम कम हुन्छ । समय समयमा साबुन पानीले हात धुनु पर्छ । स्यानिटाइजरको प्रयोग पनि बेला बेला गर्नु पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस