सार्वजनिक सवारी दुर्घटनामा परि घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सार्वजनिक सवारी दुर्घटनामा परि घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने


२७ आश्विन २०७८, बुधबार


काठमाडौँ । सार्वजनिक सवारी दुर्घटनामा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने भएको छ । सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरूको किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरूको निःशुल्क उपचार सरकारले गरिदिने भएको हो ।

मुगु,कास्की लगायतका स्थानमा भएको सवारी दुर्घटनाबाट भएको ठुलो मानवीय क्षति भएसँगै गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै घाइतेहरूको निःशुल्क उपचार तथा मृतकलाई राहतको व्यवस्था गरिने जनाएको छ । 

जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरूको अन्त्येष्टि तथा किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ ।’

सडक तथा सवारी सुरक्षाका माध्यमबाट यातायात सेवालाई सुरक्षित बनाई नागरिकको जीउधन र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएको छ ।

दुःखद घटनाहरूको न्यूनीकरणका लागि सडक तथा यातायात सम्बद्ध निकायहरू, स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई संवेदनशील र जिम्मेवार भई लाग्न तथा यातायात व्यवसायी, मजदुर र यात्रुहरूले समेत सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यातायात सेवा सञ्चालन र प्रयोग गर्न गराउन आग्रह समेत गरिएको छ ।

मङ्गलवार मुगुमा यात्रुबहाक बस दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाएका थिए भने १३ जना घाइते भएको थियो । यस्तै सोमबार घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस