घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, जीपमा सवार अधिकाँस यात्रुको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, जीपमा सवार अधिकाँस यात्रुको मृत्यु


२५ आश्विन २०७८, सोमबार


कास्की । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ ।

पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जीपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको र अधिकाँसको मृत्यु भएको छ । एक जनाको उद्धार जारी रहेको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए ।

उनले भने, ‘दुर्घटनामा परेर केहीको मृत्यु भएको भन्ने जानकारी आएको छ, हामी घटनास्थलतर्फ जाँदैँछौँ, अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला ।’ घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

स्थानीय प्रहरी तथा स्थानीयवासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिए । जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस